विश्वप्रकाशलाई ओलीको जवाफ- 'अस्ति एउटा थोत्रो पार्टीको ठिटोले मलाई गाली गरेको सुनेथेँ, गालीको उद्योगै चलाएछन्'

विश्वप्रकाशलाई ओलीको जवाफ- 'अस्ति एउटा थोत्रो पार्टीको ठिटोले मलाई गाली गरेको सुनेथेँ, गालीको उद्योगै चलाएछन्'

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू विरुद्ध बेइमानी र झुटो बोलेर कांग्रेसले गालीको कुटीर उद्योग चलाइरहेको आरोप लगाएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति इंगित गर्दै कांग्रेसले नै गालीको कुटीर उद्योग चलाइरहेको बताएका हुन्।

केही दिनअघि प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले नयाँ सत्ता समीकरण बने सँगै अध्यक्ष ओलीको गालीको कुटीर उद्योग बन्द हुने बताएका थिए।

यसैको जवाफमा अध्यक्ष ओलीले महामन्त्री शर्मालाई थोत्रो पार्टीको ठिटोको उपमासहित गालीको उद्योग चलाएको आरोप लगाए।

उनले भने, ‘अस्ति एउटा थोत्रा पार्टीको एउटा ठिटाले मलाई गाली गरेको सुनेथेँ। गालीको कुटीर उद्योग बन्द हुन्थ्यो, कुटीर उद्योग नै होइन नि यो। किन चलाउनुपर्छ उद्योग। चलाउनै पर्दैन नि। गालीको कुटीर उद्योग त उनीहरुले चलाइरहेका छन । हाम्राविरुद्ध झुट बोलेर, बेइमानी गरेर।’

उनले कांग्रेस नयाँ विचार बोकेको र ल्याइरहेको पार्टी हो भनेर आफूले झुटो बोल्न नसक्ने भन्दै कांग्रेस विचार नभएको पार्टी भएको बताए।

अध्यक्ष ओलीले आफूभन्दा माथिका नेताहरूलाई अपमान गर्नेगरी सामाजिक सञ्जालमा स्ट्याटस नलेख्न समेत निर्देशन दिएका छन्।

१३ चैत, २०८०, २१:०५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।