ओमन पुर्याइ जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा राना पक्राउ

ओमन पुर्याइ जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा राना पक्राउ

काठमाडौं : ओमन पुर्याइ जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाइदिने लगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट शहरमा पुर्यालएर जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने उजुरीका आधारमा रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिई पीडित नेपाल फर्कन सफल भएको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा घटनापछि फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ।

१३ चैत, २०८०, १४:०२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।