'महामूर्ख' उपाधि पाएपछि मधेश प्रदेशका सभामुख मण्डलको अनुहारमा देखियो अनौठो मुस्कान

'महामूर्ख' उपाधि पाएपछि मधेश प्रदेशका सभामुख मण्डलको अनुहारमा देखियो अनौठो मुस्कान

काठमाडौं : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधिले सम्मानित गरिएको छ।

जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होलीको अवसरमा हास्य उद्देश्यले आयोजना गर्दै आइरहेको महामूर्ख सम्मेलनले यस वर्ष मण्डललाई महामूर्खको उपाधिले सम्मान गरिएको हो।

महामूर्खको उपाधि पाएपछि सभामुख मण्डलको अनुहारमा अनौठो मुस्कान समेत देखिएको थियो। उनलाई पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ।

यस्तै, मधेश प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदाबहार मूर्ख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई. सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधिले सम्मान गरिएको छ।

मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधिले सम्मानित गरिएको हो।

 

१२ चैत, २०८०, १९:४३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।