अछाममा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते

अछाममा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते

अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

मेल्लेख-७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा मेल्लेख-१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन्।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका प्रहरी निरीक्षक साउदले बताए।

मृतक र घाइते एउटै वडाका बासिन्दा हुन्। घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

१२ चैत, २०८०, ११:२७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।