‘गेम चेन्जर’ प्रोजेक्ट मानिएको तिनाउ-दानव करिडोरको काम कछुवा गतिमा, दायित्व साढे १ अर्ब हुँदा बजेट १० लाख मात्रै

‘गेम चेन्जर’ प्रोजेक्ट मानिएको तिनाउ-दानव करिडोरको काम कछुवा गतिमा, दायित्व साढे १ अर्ब हुँदा बजेट १० लाख मात्रै

बुटवल : बुटवलको विकासमा ‘गेम चेन्जर’को प्रोजेक्ट मानिएको तिनाउ-दानव करिडोरको काम पछिल्लो समय कछुवा गतिमा अघि बढेको छ। जिल्लाको आर्थिक र पर्यटन विकासमा महत्वपूर्ण मानिएको यो कोरिडोर निर्माणको कामले गति नलिँदा समयमै सम्पन्न नहुने निश्चित जस्तै भएको छ।

बुटवलको तिनाउ पुलमुनिबाट तिनाउ र दानव नदी छुट्टिने बिन्दुबाट शुरू भई तिलोत्तमा र सैनामैना नगरपालिका हुँदै दक्षिणतर्फ भैरहवा-लुम्बिनी सडकलाई जोड्ने गरी दुई वैकल्पिक सडक बनाउने उदेश्यले २०७७ मंसिर १० गते शिलन्यास भएको थियो। कुल ४ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा अहिले २ अर्ब ११ करोडको ठेक्का लगाएर काम भइरहेको छ।

डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार अहिले तिनाउ र दानव नदीतर्फका चार खण्डमा करिडोरको काम भइरहेको छ। तिनाउ तर्फ पहिलो प्याकेजको काम किरातेश्वर, मैनाचुली, अविशा जेभीले गरेको छ। २०७७ असोजमा ३३ महिनामा सम्पन्न गर्ने गरी उक्त कम्पनीले ५२ करोड ४६ लाख ९३ हजारमा सम्झौता गरेको थियो। तर समयमै काम सम्पन्न भने भएको छैन।

हालसम्म सो खण्डमा ४६ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। नदीको दायाँ र बाँया ४/४ किलोमिटर निर्माण हुने यो खण्डमा धेरै बस्तीहरू रहेका छन्। सूचना अधिकारी लम्सालले करिडोर निर्माण क्षेत्रमा बस्ती धेरै भएको र व्यवस्थापन नहुँदा काममा समस्या सिर्जना भएको बताए। किरातेश्वर, मैनाचुली, अविशा जेभीले ४६ प्रतिशत भौतिक प्रगति गर्दा जम्मा २१ करोड मात्र भुक्तानी लगेको छ।

त्यस्तै दोस्रो प्याकेज अन्तर्गत मगरघाट देखि अमुवा सम्म तिनाउ नदिमा करिडोर निर्माणको काम लामा बानिया जेभीले गरेको छ। ०७९ असार २० गते तिनाउ नदीको वारी-पारी गरी १९ किलोमिटरका लागि ८८ करोड ४१ लख ९६ हजार रुपैयाँको ठेक्का सम्झौतामा काम सुरु गरेको लामा बानिया जेभीले हाल सम्म १२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ।

१२ प्रतिशत भौतिक प्रगति हुँदा निर्माण कम्पनीले ८ करोड भुक्तानी लगेको छ। यो क्षेत्रमा घरहरू भने छैनन्। ठेकेदारकै लापरबाहीले गर्दा काम सुस्त भएको लम्सालले बताए। सम्झौता अनुसार निर्माण कम्पनीले यो खण्डको काम ०८२ असार २० गते भित्र सम्पन्न गर्नुपर्नेछ।

यसैगरी दानव नदीतर्फको करिडोरतर्फ पनि दुईवटा प्याकेज अनुसार काम भइरहेको छ। पहिलो प्याकेज अनुसार बेलबासदेखि नयाँगाउ सम्म दायाँ बायाँ २/२ किलोमिटर कोरिडोर बन्नेछ। कुल १९ करोड ४२ लाखमा ठेक्का लगाइएको यो खण्डको काम अहिले सम्म जम्मा ५० प्रतिशत सकिएको छ। ५० प्रतिशत भौतिक प्रगति भए पनि निर्माण कम्पनीले भने जम्मा ६ करोड मात्र भुक्तानी लगेको छ। यो खण्डमा केही बस्ती छ।

त्यसैगरी सोही खण्डमा दोस्रो प्याकेज अन्तर्गत लामा बानिया जेभीले काम गरिरहेको छ। काठेपुल-झोलुङ्गे पुल र सुन्दरनगर-कर्साघाट सम्मको कुल ११ किलोमिटर सडक निर्माणका लागि ०७८ फागुनमा लामा बानियाले ठेक्का सम्झौता गरेको थियो।

कुल ५० करोड ४४ लाखमा ठेक्का सम्झौता गरेको लामा बानिया जेभीले हालसम्म जम्मा १३ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ। यो खण्डमा धेरै बस्ती छ। बस्तीको व्यवस्थापन भने अझै भइसकेको छैन। जसकारण निर्माण समयमै सकिनेमा शंका छ।

कहाँबाट कति विस्थापित?
तिनाउ तथा दानव नदी किनारामा बुटवल-२, ५, ७, ९, ११, १३, १४ र १७ तथा तिलोत्तमा नगरपालिका-३ का मैनाबगर, श्रीरामनगर, सुन्दरनगर, शौभाग्यनगर, पबित्रानगर, सत्यवतीटोल, हात्तिसुड, प्रगतीगनर, मजुवा, टपमजुवा, दुर्गानगर, ध्रुवनगर, न्यू दुर्गानगर, युद्वनगर, बुद्वनगर, श्रृजनानगर, ताराटोल, पदमपुर, हरियालीटोल, रानीगन्ज टोलका सुकुम्बासी तथा अव्यवस्थित बसोबासका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्नुपर्नेछ।

उपमहानगरले ती घरधुरीलाई स्थानान्तरण गर्न दुई बिघा जग्गा व्यवस्थापन गरेको बताए पनि स्थानान्तरणको काम भने शुरू भइसकेको छैन। तिलोत्तमा र सैनामैना क्षेत्रमा खासै धेरै घरधुरी नपरेकाले समस्या नभएको ती नगरपालिकाले जनाएका छन्।

डिपिआर अनुसार सोही कोरिडोर अन्तर्गत ५ सय ५६ रुख काट्नुपर्ने, ४५.८४ हेक्टर स्थायी जमिन, ०.४० हेक्टर अस्थायी जमिन, १ सय ४७ विद्युत पोल, कृषि कुलो २ हजार मिटर र मठमन्दिर १२ वटा प्रभावित हुनेछन्।

यस्तै हृयुमपाइप कल्भर्ट ९१ वटा, स्लाब कल्भर्ट १४ वटा राख्नुपर्ने र नाली ५० किलोमिटर बनाउनुपर्नेछ। नदी कटान रोक्न एक लाख ९७ हजार घनमिटरको ग्याबिन वाल लगाउनुपर्ने, ३१ हजार ८ सय घनमिटर माटो उत्खनन र १६ लाख ६६ हजार घनमिटर माटो पुर्नुपर्ने डिपीआरमा उल्लेख छ।

आकर्षक हुनेछ सडक
संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत बनाउने सडकको दुवै करिडोरमा एकसाथ काम शुरू भएको छ। अहिले तिनाउ र दानव नदीमा छुट्टा-छुट्टै चारवटा ठेक्का लागेका छन्।

समग्रतामा दुवै नदीको वारी र पारीपट्टी ७ मिटरका दरले दुई लेन सडक, २ मिटर फुटपाथ, ३ मिटर हरियाली र दुवैतर्फ १.५ मिटरको नाली हुनेछ। पर्यटकीय दृष्टिले सडकको डिजाइन स्पिड प्रति घण्टा ४० किलोमिटर मात्र कायम गरिएको छ।

तिनाउतर्फ १५/१५ किलोमिटरका दरले ३० किलोमिटर र दानवतर्फ १०/१० किलोमिटरका दरले २० किलोमिटर सडक बनाउने गरी डीपीआर बनेको छ। रिभर रुट निर्माणका लागि २ वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो। जसमा ५० किलोमिटर सडक निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो।

यो सडक निर्माणपछि तिनाउ नदी तटीय क्षेत्रको बस्ती सुरक्षित हुनेछन् भने नदीको सौन्दर्यीकरण समेत बढ्नेछ। तिनाउ नदीलाई हिउँदको समयमा जलाशय बनाएर आन्तरिक र वाह्य पर्यटकलाई डुंगा शयर गराउने दीर्घकालीन लक्ष्यसमेत छ।

डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ।

सरकार परिर्वतनको असर बजेटमा
निकै महत्वपूर्ण मानिएको यो कोरिडोर आयोजनामा बजेट भने सरकारले न्यून छुट्याएको छ। बुटवलस्थित डिभिजन सडक कार्यालयका सूचना अधिकारी लम्सालले बजेट नहुँदा पनि काममा प्रभाव परेको बताए।

‘यी चार खण्डमा काम भए पनि भुक्तानी दिन सकिएको छैन। यी आयोजनाको दायित्व यो वर्ष साढे १ अर्बको छ। तर बजेट जम्मा १० लाख मात्र सरकारले दिएको छ’, उनले भने।

१२ चैत, २०८०, ०९:५७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।