यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि बर्खास्त, एक महिनापछि फेरि केन्द्रीय सदस्य मनोनीत

यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि बर्खास्त, एक महिनापछि फेरि केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : गत फागुन ३ गते एमालेले तत्कालीन केन्द्रीय सदस्य ऐन महरलाई बर्खास्त गर्यो। यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि महरलाई बर्खास्त गरिएको थियो।

अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका महर र एक जना महिलाबीचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो।

तथापि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक विज्ञप्ति जारी गर्दै महरको राजीनामा स्विकार गरेको बताएका थिए।

विज्ञप्तिमा अर्का केन्द्रीय सदस्य अहमद फारुकीको समेत राजीनामा स्विकार गरिएको उल्लेख थियो।

तर, आज एमालेले उनै नेता महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले महरले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनीत गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘पार्टी केन्द्रीय सदस्य ऐन महरले केही समयअघि स्वेच्छाले राजीनामा दिनुभएको थियो र स्वीकृत पनि भएको थियो’, ज्ञवालीले भने, ‘पछि उहाँले पार्टीमा फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारितासाथ काम गर्ने प्रतिबद्धता गर्नु भएकाले पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने निर्णय पनि गरेको छ।’

 

११ चैत, २०८०, १८:०९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।