मधेश प्रदेश : १५ महिना पूरा नहुँदै चौथोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

मधेश प्रदेश : १५ महिना पूरा नहुँदै चौथोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

काठमाडौं : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले फेरि विश्वासको मत लिँदैछन्।

प्रदेश सरकारबाट नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले पुन: विश्वासकाे मत लिनुपर्ने भएकाे हाे। यो सँगै मुख्यमन्त्री यादवले आफ्नो कार्यकालको १५ महिना पूरा नहुँदै चौंथोपटक विश्वासको मत लिँदैछन्।

गत शुक्रबार कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियाे। नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले गत सोमबार कांग्रेसका मन्त्रीलाई हटाउँदै एमालेलाई सरकारमा प्रवेश गराएपछि कांग्रेसले समर्थन फिर्ता लिएको हो।

नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम अबको ३० दिन भित्र मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत लिनु पर्ने छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकाे नेतृत्वमा रहेको मधेश सरकारमा अहिले एमाले, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी रहेको छन्।

प्रदेशसभामा १०७ सदस्य रहेको मधेशमा मुख्यमन्त्री यादवको पक्षमा अर्थात् वर्तमान गठबन्धनसँग ६९ सांसद छन्।

अहिले प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९,  एकीकृत समाजवादीका ७ सांसद छन्।

यस्तै, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादी पार्टीका १/१ सांसद छन्।

११ चैत, २०८०, १४:११:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।