लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्तालाई आह्वान

लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्तालाई आह्वान

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धि बीचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।

अवैतनिक कन्सुलर कर्प्स नेपाल एसोसिएसनले आयोजना गरेको लुम्बिनी कन्क्लेभलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धि बीचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कूटनीतिक समुदायलाई आग्रह गरेका हुन्।

शान्त वातावरणमा व्यवसाय तथा उद्यमहरू डर बिना स्वतन्त्रपूर्वक सञ्चालन हुँदा लगानी, उद्यमशीलता र आर्थिक वृद्धिका लागि राम्रो वातावरण बन्ने भएकाले लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्तालाई आह्वान गरिएको अध्यक्ष ढकालले बताए।

उनले आउँदो लगानी सम्मेलनमा धेरै लगानीकर्तालाई सहभागी गराइ लगानी जुटाउन कूटनीतिक समुदायलाई आग्रह गरे।

आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ उर्जा, कृर्षि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा बाह्य लगानीका लागि उदार नीति तथा लगानी मैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गरिरहेकाले पनि लगानीकर्तालाई आश्वस्त रहन उनले जोड दिए।

१० चैत, २०८०, १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।