नक्कली लाइसेन्स बनाउन संलग्न पूर्व सांसद बिन्दिया कार्की कोशी प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त

नक्कली लाइसेन्स बनाउन संलग्न पूर्व सांसद बिन्दिया कार्की कोशी प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त

काठमाडौं : नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न पूर्व प्रदेश सांसद बिन्दिया कार्की कोशी प्रदेश खेलकुद बिकास बोर्ड उपाध्यक्ष नियुक्त भएकी छिन्।

कोशी प्रदेश सभाकी पूर्वसांसद कार्कीलाई प्रदेश सरकारले आज प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त गरेको हो।

शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले कार्कीलाई रिक्त रहेको प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो।

कार्की प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन्। उनी कोशी प्रदेश सांसद रहँदा छोराको नक्कली लाइसेन्स बनाउन संलग्न थिइन्।

सांसद कार्कीका छोरा २४ वर्षका रविनसिंह कार्कीले चलाएको आमाको नाममा रहेको प्रदेश ३-०१-०२२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा एक मजदुरले ज्यान गुमाए।

२०७८ जेठ २० गते बेलुका ७:३५ बजे न्यु एभरेस्ट फर्निचरमा काम सकाएर कोठामा जान सडक किनारामा हिँडिरहेका भारतीय नागरिक राजकुमार राजवंशी र मुकेश दासलाई कार्कीले चलाएको गाडीले ठक्कर दिएको थियो। काठमाडौंबाट ०१–०६–००५४२५८९ नम्बरको चालक अनुमति पत्र लिएको र त्यसको जारी मिति २०७५–७–१२ गते रहेको उल्लेख छ।

यो पनि : 

यातायात व्यवस्था विभागको कम्प्युटर रेकर्डमा पनि सो सवारी चालक अनुमति पत्र कार्कीकै नाममा रहेको फेला पर्यो। तर ढड्डामा भने अर्कैका नाममा देखियो।

प्राप्त प्रमाणले कार्कीले सवारी चालक अनुमतिपत्र निकाल्ने प्रक्रिया नै सुरू नगरेको पुष्टि भएको थियो। उनले आफ्नो दाबी गरेको सवारी चालक अनुमति पत्रको हाजिरी रेकर्ड र प्रयोगात्मक चेकलिष्टमा कार्कीको दर्ता नम्बरमा उनको नाम नभइ भेषबहादुर माझीले परीक्षा दिएको पुष्टि भयो।

ढड्डामा माझीको नाममा देखियो भने ट्रायल पनि माझीले दिएको यातायातकै विवरणले पुष्टि गरेको छ।

उनको विवरणमा यातायातका कर्मचारीको मिलेमतोमा सवारी ज्यानको सजायबाट जोगिन कार्की नाममा सवारी चालक अनुमति पत्र निकालेको पुष्टि भएको थियो।

अझ ट्रायलमा माझी फेल समेत भएका थिए। तर त्यही दर्ता नम्बरबाट कार्कीको नाममा सवारी चालक अनुमति पत्र जारी गरेको थियो विभागले।

कार्कीको नाममा जारी सवारी चालक अनुमति पत्र नक्कली रहेको पुष्टि भएपछि विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि पत्र पठाएको थियो। अख्तियारमा पटकपटक बयान दिन गएकी कार्कीको यो मुद्दा अहिलेसम्म टुङ्गिएको छैन।

९ चैत, २०८०, २०:४९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।