बुटवलमा छाडा चौपाया व्यवस्थापन सुरू, एकैदिन ४ सय गाईगोरू​​​​​​​ गौशाला पुर्याइयो

बुटवलमा छाडा चौपाया व्यवस्थापन सुरू, एकैदिन ४ सय गाईगोरू​​​​​​​ गौशाला पुर्याइयो

बुटवल : बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपायाको व्यवस्थापन सुरू गरेको छ।

शुक्रबार उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो।

पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम सुरू भएको प्रमुख पाण्डेयले बताए।

उनले पहिलो दिन करिब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रुपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाउने बताए।

'बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट धेरै गाईगोरू आउने गरेका छन्', उनले भने- 'अहिले हामीले बुटवलभित्र रहेका गाई गोरुको व्यवस्थापन गर्छौँ, त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरूमा निगरानी गर्ने र शहरभित्र गाई गोरु ल्याउन रोक्ने काम पनि गरिनेछ।'

उनले सडकमा गाईगोरू देखेमा शिवनगर गौशालामा पुर्याउन वा उपमहानगरपालिका तथा वडा कार्यालयलाई खबर गर्नसमेत आग्रह गरे।

उनले सडकमा गाईगोरूको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरेको बताए।

'यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयंसेवक र बुटवलबासीको साथ पाएका छौं', उनले भने- 'यसले बुटवललाई थप व्यवस्थित बनाउनेछ।'

उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपाया व्यवस्थापन थालिएको बताइन्। उनले यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गरिन्।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम सुरू भएको र त्यसको व्यवस्थापनको लागि सबै तयारी भएको बताए।

उनले गौशालामा गाईगोरूका लागि दाना र परालको व्यवस्था गरी हेरालु समेत राखिएको बताए।

छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगरप्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघसंस्थाका प्रतिनिधिहरु तथा समुदायका अगुवाहरू सहभागी थिए।

९ चैत, २०८०, १९:१५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।