अदालतले खारेज गर्यो कपिलविरुद्धको उजुरी

अदालतले खारेज गर्यो कपिलविरुद्धको उजुरी

मुम्बई : भारतीय प्रख्यात कमेडियन कपिल शर्माविरुद्ध परेको उजुरी अदालतले खारेज गरिदिएको छ।

दुई वर्षअघि ‘द कपिल शर्मा शो’मा देखाइएको अदालतलाई व्यङ्ग्य गरेको विषयमा परेको उजुरीलाई उच्च अदालत ग्वालियर्सले खारेज गरिदिएको हो।

उक्त एपिसोडमा अदालतको सेट तयार पारेर आठ मिनेटसम्म कपिल शर्मा र उनका साथीहरूले अदालतमा हुने कानूनी कारबाहीको अभिनय गरेका थिए। 

यो एपिसोडमा कपिल वकिलको भूमिकामा थिए भने उनले दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गर्दै मदिरा मागेका थिए।

यो एपिसोड हेरेका ग्वालियरका मजिष्ट्रेट कोर्ट र सेशन कोर्टका अधिवक्ता सुरेश धाकडाले शोका निर्मातासँगै शोका होस्ट कपिल शर्माविरुद्ध मुद्दा दर्ताको माग गर्दै उजुरी दिएका थिए। उजुरीमा शोको माध्यमबाट अदालतको छविलाई धमिल्याउने प्रयास गरिएको उल्लेख थियो।

उजुरीमा कपिलको शोमा दोहोरो अर्थ लाग्ने संवाद धेरै प्रयोग गरिने र महिलामाथि भद्दा प्रतिक्रिया दिइने आरोप थियो। उजुरीमा अदालतमा मदिरा पिएको देखाइएपछि त्यसले अदालतको अपमान गरेको उल्लेख थियो।

सोही मुद्दामा उच्च अदालत ग्वालियरले कपिललाई राहत दिएको हो। मुद्दा दर्तापछि अदालतले अधिवक्ता सुरेशलाई पब्लिसिटी स्टण्टका लागि प्रहरी र अदालतको प्रयोग नगर्न सचेत गराएको छ।

कपिल शर्मा अहिले नयाँ शो रिलिजको तयारीमा छन्। उक्त शो नेटफ्लिक्समा रिलिज हुँदैछ। शोमा उनका पूर्व सहकर्मी सुनिल ग्रोवर पनि हुनेछन्। सुनिललाई डा. मसहुर गुलाटी वा गुत्थी भनेर धेरैले चिन्छन्।

९ चैत, २०८०, ०९:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।