लोकगायक अमर बिरही गुरुङको हिजोको कुरा : बाआमाको लागि आर्मी र आफ्ना लागि खेलाडी बनेँ, पैसा कमाउन मास्टरै बन्नुपर्‍यो

लोकगायक अमर बिरही गुरुङको हिजोको कुरा : बाआमाको लागि आर्मी र आफ्ना लागि खेलाडी बनेँ, पैसा कमाउन मास्टरै बन्नुपर्‍यो

लोक तथा दोहोरीमा छुट्टै पहिचान बनाएका गायक हुन् अमर बिरही गुरुङ। उमेरले ७० पुगेका गायक गुरुङ लमजुङको सामान्य परिवारमा जन्मिए।

एलएलसीसम्मको अध्ययन गरेका उनले त्यसभन्दा बढी पढ्नै चाहेनन्। बुवाआमाको सोच लाहुरे बनाउने थियो तर उनलाई खेलाडी बन्नु थियो। बुवाआमाको चाहना पूरा गर्न एसएलसीपछि आर्मीमा भर्ती भए गुरुङ।

२०३२ सालमा आर्मीको जागिरे भए पनि काममा खासै मनै गएन उनको। चार वर्षपछि जागिरै छाडेर राष्ट्रिय फुटबल खेलाडी बने र आफ्नो चाहना पनि पूरा गरे। खेलाडी कहाँ सधैँ भइराखिन्छ र! पछि शिक्षक बनेर विद्यार्थी पढाए पनि उनले।

विभिन्न पेशामा भुले पनि उनमा गाउँमा रोधी बस्दाका सम्झना उनमा थिए नै। रोधीको प्रभाव सितिमिति हट्ने कुरै भएन। उनी गाउन खप्पिस थिए। ‘गैरी पर्यो ताल’, ‘खोली रसायो’, ‘काठमाडौं सिंहदरबार’, ‘गोर्खा कालिका’, ‘गोगन पानीमा’, ‘काँचो सुरती’ जस्ता दर्जनौं चर्चित गीतहरू गाएका छन् उनले।

गीत गाउँदै जाने क्रममा उनलाई लोक तथा दोहोरी कलाकार संगठित हुनुपर्छ भन्ने लाग्यो अनि गठन गरे ‘नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’। उनी उक्त संस्थाका संस्थापक अध्यक्ष हुन्। उनै गुरुङले जीवनमा भोगेका र देखेका विषय उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’ मार्फत यसरी सुनाएका छन्।

चन्चले स्वभाव
वि.सं. २०११ सालमा लमजुङको घलेपोखरामा मेरो जन्म भयो। तीन दाजुभाई र तीन दिदीबहिनीमध्ये म जेठो। म तीन वर्षको हुँदा बुवाले २०१४ सालमा चितवन बसाइ लिएर आउनुभो। हाइस्कुलको पढाइ चितवनमै भयो। बाल्यकालमा चन्चले स्वभावको थिएँ। जे गरेको देख्यो त्यहि गरिहाल्नुपर्ने।

फुटबल खेलेको देखे आफूलाई पनि भाग लिन मन लाग्ने, गीत गाएको देखे गीत गाउनै मन लाग्ने गर्थ्यो। मेरो एसएलसीपछि हामी ३९ सालमा तनहुँको बन्दीपुरस्थित वडा नम्बर ४ बसाइ सर्यौं।

हाम्रो समुदायमा रोधी बस्ने चलन थियो। अहिले पनि त्यो चलन छ। मेरो बुवाआमाले पनि रोधीमा गीत गाउने गर्नुहुन्थ्यो। त्यसैको प्रभावले होला म पनि अलि-अलि गीत गाउथेँ। तर, गायक नै बन्छु भन्ने सोच थिएन।

रहरमा गीत भने गाउने गर्थेँ। मलाई गीत गाउन भन्दा पनि विशेष गरेर फुटबल खेल्न शोख थियो। तर पूरा गर्न सकेको थिइनँ। गाउँमा बसेको हुनाले फुटबलमा खासै अवसर पाइनँ। ३२ सालमा नेपाल आर्मीमा भर्ना भएँ। त्यहिबाट फुटबल खेल्ने चाहाना पूरा गर्न थालेँ।

बुवाआमाको चाहना ब्रिटिस लाहुरे, भएँ नेपाल आर्मी
मेरो बुवाआमाको चाहाना तीन छोराहरूलाई ब्रिटिस लाहुरे बनाउने थियो। गुरुङ समुदायका प्राय सबै लाहुरमा भर्ती हुने चलन भएकाले पनि होला मेरो बुवाआमाको चाहना त्यहि थियो। तर म गइनँ। तर, नेपाल आर्मीमा भने ३२ सालदेखि ३६ सालसम्म चार वर्ष जागिर खाएँ।

सानैबाट चन्चले स्वभावको हुनाले स्थायी रूपमा आफुलाई त्यहाँ टिकाइराख्न सकिनँ। आर्मीमा रहँदा मैले फुटबलमा आफूलाई अगाडि बढाउने अवसर पाएँ। यहाँबाट बाहिरिएपछि मैले नारायणी अञ्चलबाट फुटबल खेल्ने मौका पाएँ।

त्यो बेला गणेश थापा र म एउटै फुटबल टिममा रहेका थियौँ। यहाँबाट पनि म बाहिरिए। त्यसपछि घर छेवैको स्कुलमा पढाउन थालेँ। नेपाल आर्मीमा हुँदा पनि म गीत गाउने गर्थेँ। पछि यसैमा रस पस्न थाल्यो। गीत रेकर्ड गर्नका लागि पैसा हुँदैनथ्यो।

आमाको थैलीबाट पैसा चोरेर काठमाडौं
त्यो बेला काठमाडौं आउन गाह्रो थियो। पैसा हुँदैनथ्यो। काठमाडौं जाने भनेपछि २०/२२ दिन अघिबाटै पैसाको जोहो गर्नुपर्थ्यो। भन्नेबित्तिकै पैसा नपाइने भएकाले अर्काको मेलापात नगइ सुखै थिएन। कहिलेकाँही आमाको थैलीबाट पनि पैसा चोर्थेँ। कति पटक काठमाडौं आउँदा मैले १०/१५ रुपैयाँ आमाको थैलीबाट पैसा चोरेर आएको छु। उहाँहरूले बटुकामा पैसाको थैलो राख्नुहुन्थ्यो। उहाँ सुतेको समयमा चोरेर हिँडेको छु।

अहिले म सम्झन्छु, मेरी आमाले ती पैसा कसरी जम्मा पार्नुहुन्थ्यो होला? मैले त्यसरी चोरेको पैसाले काठमाडौं आउँदा र घर जाँदा पनि पुग्न मुस्किल हुन्थ्यो। रेडियो नेपालमा गीत गाउँदा ६० रुपैयाँ दिन्थ्यो। त्यो पैसा यतै खाजा र भातमै सकिन्थ्यो। मेरो यहि क्रममा ४१ सालतिर रेडियो नेपालमा गीत रेकर्ड गर्ने मौका पाएँ। अरुले रेडियो नेपालमा गीत गाउनका लागि पापड बेल्नुपर्थ्यो भन्थेँ तर मलाई त्यति गाह्रो भएन। प्रतियोगिता बाहेक अरूमा आफैँले खर्च गरेर आउनुपर्ने हुन्थ्यो।

मैले पैसा कमाउनका लागि स्कुलमा पढाउने काम पनि गरेँ। मास्टरी काम गर्दा खर्च जुटाउन सहयोग भयो। एसएलसीसम्म मात्र पढे पनि मैले ७ कक्षासम्म पढाउनुपर्थ्यो। बन्दिपुरकै पवित्रा मावि डुम्रेमा पढाएँ। यहाँ पढाउन थालेपछि पैसाको जोहो गर्न अलिक सहज भयो। अनि गीत गाउन र रेकर्ड गर्नका लागि काठमाडौं आउँदा आमाको थैलाबाट पैसा चोर्नुपरेन।

स्कुलबाट बिदा मिलाएर म काठमाडौं गीत रेकर्ड गर्न आउथेँ। स्कुलका हेडसरले मलाई रोकतोक गर्नुभएन। जानुहोस् गीत गाएर आउनुहोस् भन्ने सल्लाह दिनुहुन्थ्यो। त्यहि अनुसार म समय म्यानेज गरेर आउँथे। रेडियो नेपालमा त्यो समयमा गीतका शब्द-शब्दको सेन्सर हुन्थ्यो। तर, दोहोरी गीत गाउदा खासै सेन्सर गरेको मैले अनुभव गरिनँ।

रेडियो नेपालमा गीत गाउनका लागि ३९ सालतिर लोक तथा दोहोरी गीत प्रतियोगितामा जितेको थिएँ। राष्ट्रिय खेलकुद परिषद्ले हेटौंडामा दोहोरी प्रतियोगिता गरेको थियो। त्यो दोहोरी गीत प्रतियोगीतामा मेरो राम्रो भयो। त्यसपछि मैले लोक गीतमा निरन्तरता दिन थालेँ।

काठमाडौंमा ४१ सालमा पनि दोहोरी गीतप्रतियोगिता भयो। अखिल नेपाल बक्सिङ संघ भन्ने संस्थाले दोहोरी प्रतियोगीताको आयोजना गरेको थियो। त्यसमा भाग लिनका लागि म लगायत केही साथीहरू पुग्यौँ। त्यो बेला रेडियो नेपालका पाण्डव सुनुवार, राम थापासँग मेरो संगत भयो। उहाँहरू रेडियो नेपालमा कार्यरत हुनुहुन्थ्यो। त्यतिबेलाको समयमा हामीहरू दोहोरी गीतमा अब्बल गनिन्थ्यौँ। 

अमर बिहरी गुरुङ दोहोरी गीतमा आएको छ भनेपछि त्यहि किसिमले हेर्थे। अनि मैले पनि रेडियो नेपालमा गीत गाउनुपर्यो भनेपछि राम थापाले ‘चौतारी’ भन्ने कार्यक्रममा उहाँकै गीत ‘रेलै घुमेर’ गाउने अवसर दिनुभयो। जुन गीत रेडियो नेपालबाट बजेपछि हिट भयो। त्यसपछि मेरो रेडियो नेपालसँग निकटता बढ्यो र अर्को वर्षबाट मेरो आफ्नै गीतहरू भटाभट रेकर्ड भयो। त्यसपछि मेरो नाम पनि अग्रस्थानमा आउन थाल्यो।

चाहना खेलाडी बन्ने, भएँ गायक  
मेरो गायनमा आउने इच्छा थिएन। खासमा मेरो फुटबल खेलतिर चाहना थियो र तर सोचे अनुसारको भएन। दोहोरी संस्कारमा हुर्किएकाले दोहोरी प्रतियोगितामै लागियो। त्यसपछि अहिलेसम्म दोहोरी मै लागि नै रहेको छु। खासै प्रगति गर्न सक्या छैन। अलिक पुरानो श्रष्टा चाहिँ भइयो। ५७ सालतिर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल खोलियो र त्यसको संस्थापक अध्यक्ष भएँ।

रोधी संस्कारमा हुर्किएको हुनाले बुवाआमा रोधीमा जानुहुन्थ्यो अनि गीत गाउनुहुन्थ्यो। उहाँको पछि-पछि लागेर म पनि जान्थेँ। थाहै नपाइ गुनगुनाउन थालियो भन्दा पनि फरक पदैन। सानोमा गीतहरू गुनगुनाउँदा यसरी कलाकार नै हुन्छु भन्ने चाहिँ थिएन। रोधी बस्ने चलन थियो, गइन्थ्यो, हेरिन्थ्यो, बेला-बेलामा आफैँ पनि गाइन्थ्यो।

एउटा भनाइ छ- रोधी बस्दा जसले जित्छ उसले लैजान्छ भन्ने। तर, त्यस्तो हुँदैनथ्यो। यसरी रोधी बस्दा कहिले जितियो कहिले हारियो। तर रोधी बसेर नै जाने र ल्याउने भन्ने कुरा चाहिँ मैले भेटिनँ। बरु एउटा आत्मियता भने बढ्थ्यो। तर, मायाप्रेम नै बस्थ्यो भन्ने छैन।

रोधी समूहमा बस्ने हो। त्यो समूहमा सबैले रोधी गाउन सक्दैनथे। थाल्ने काम सीमित मान्छेले गर्थे। त्यसमा गीत थाल्नेमा म पर्थेँ भने अरुले भाका छोप्थे। यसरी धेरै ठाउँका रोधीमा गीत गाएको छु।

दुई पटक लभ म्यारिज 
हाम्रो गुरुङ समुदायमा मागी विवाह गर्ने चलन थिएन। अहिले पनि छैन। केटाकेटी मिलेपछि भगाउने हो। मेरो पनि त्यसरी नै विवाह भयो। मैले ३८ सालमा लभ म्यारिज गरेँ।

उनीबाट दुई छोरी जन्मियो। केही समय सम्बन्ध राम्रै भए पनि पछि हामीबीच मतभेद भयो अनि डिभोर्स भयो। त्यसपछि मैले ४६ सालमा अर्को विवाह गरे। यो पनि लभ म्यारिज जस्तै। कान्छी पट्टिबाट अहिले ३ छोरा छन्। अहिले नातीनातिना पनि भइसके। उमेरले ७० वर्ष लागिसकेँ।

​​​​​​​​​​​​​​पछिल्लो समय गीतसंगीतमा विकृति बढ्यो भन्ने कुराहरू सुन्छु। समय नै परिवर्तनशील छ। पुरानै ढाँचामा गीतहरू आइरहनुपर्छ भन्ने छैन। नयाँपन नयाँ तरिकाबाट पनि लोक गीत गाउँदा पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई। भाइरल हुनका लागि अश्लिल शब्दहरू समावेश भएको गीत पनि सुनेको छु। तर, विस्तारै-विस्तारै त्यो हट्दै जान्छ भन्ने मलाई लाग्छ।

८ चैत, २०८०, १३:२७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।