अश्लील प्रश्न सोधेर गेस्टलाई हैरान बनाउने विक्कीले नयाँ शो ‘कमेडी दरबार’ ल्याउँदै, बिजय बराल अनुबन्धित

अश्लील प्रश्न सोधेर गेस्टलाई हैरान बनाउने विक्कीले नयाँ शो ‘कमेडी दरबार’ ल्याउँदै, बिजय बराल अनुबन्धित

काठमाडौँ : कमेडियन विक्की अग्रवालले टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ ल्याउने भएका छन्। कमेडियन विक्कीले सोमबार अभिनेता बिजय बराललाई अनुबन्धित गर्दै शोको घोषणा गरेका हुन्।

उनले आफ्नो कमेडी शोमा कलाकार बिजय बराल कुन भूमिकामा देखिनेछन् भन्नेबारे भने खुलाउन चाहेनन्। उनले शो सुचारू भएपछि दर्शकले आफैं थाहा पाउने बताए। उनका अनुसार अहिले शो को सेट र कलाकारको टिम छनोट प्रक्रिया चलिरहेको छ।

यसअघि उनले रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजनलाई सम्पन्न गरेका थिए। पहिलो सिजन प्राइम टेलिभिजनमा चलाएका उनले दोस्रो सिजन नेपाल नेटवर्कमा चलाएका थिए।

पहिलो सिजनमा ठिकठिकै देखिएका विक्कीको दोस्रो सिजन फ्लप भएको थियो। विवादित कलाकार र सेलिब्रेटीलाई अश्लील प्रश्नका भरमा उनले कमेडी शो चलाएको भन्दै पटकपटक विवादित पनि बनेको थियो। कतिसम्म भने त्यस शो लाई दर्शकहरू अश्लील शो समेत भन्ने गरेका थिए।

उनले अबको कमेडी शो ‘कमेडी दरबार’ भने पारिवारिक कमेडी शो हुने जानकारी दिएका छन्। विक्की र उनकी श्रीमती समेत रहेकी श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइम टेलिभिजनमार्फत प्रसारण हुने विक्कीको भनाई छ। तर शोको प्रसारण मिति तोकिएको छैन।

विक्की भारतको सिक्किमबाट नेपालकै पहिलो भनिएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को प्रतिस्पर्धीहुँदा चर्चामा आएका थिए। 

५ चैत, २०८०, १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।