कोशी प्रदेशमा दुई दिनमा मात्रै ४० बढी आगलागी : ५ जनाले ज्यान गुमाए, दर्जनौं घर जले

कोशी प्रदेशमा दुई दिनमा मात्रै ४० बढी आगलागी : ५ जनाले ज्यान गुमाए, दर्जनौं घर जले

काठमाडौं : केही सातायता कोशी प्रदेशमा दिनहुँ जसो आगलागीका घटना भइरहेका छन्।

दुई दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाए। आगोमा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन्।

आगलागीमा परी पाँचथर र झापामा १-१ जनाको मृत्यु भएको छ। मोरङ, तेह्रथुम, सुनसरी, सोलुखुम्बु, पाँचथर, इलाम, उदयपुर, धनकुटालगायत जिल्लामा शृङ्खलाबद्ध रुपमा आगलागीका घटना हुँदा धनमालको ठूलो क्षति भएको छ।

पहाडी क्षेत्रमा वनमा लागेको डढेलो फैलँदै गाउँ बस्तीसम्म पुगेर स्थानीयको घर जलेका घटना छन्।

यसैगरी, तराईका केही स्थानमा बिजुलीका कारण आगलागी भएको पाइएको छ।

एकै दिन झण्डै दर्जन स्थानमा आगलागी भएको पाइएको छ। शनिबार र आइतबार दुई दिनमा कोशी प्रदेशका ४० भन्दा बढी आगलागीका घटना भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार फागुन महिना लागेयता कोशी प्रदेशका विभिन्न जिल्लामा साना ठूला गरी २ सय ५० भन्दा बढी आगलागीका घटना भएका छन्। ती घटनामा दुई सयभन्दा बढी घर जलेको जनाइएको छ। ठूलो परिमाणमा धनमाल नष्ट भएको छ।

प्रहरीले अहिले आगलागीका घटना बढिरहेको अवस्थामा सतर्कता अपनाउन आग्रह गरेको छ। 

५ चैत, २०८०, १५:२९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।