नर्सको हत्या गरेर गायब भएका प्रेमी होटलको कोठामा मृत भेटिए

नर्सको हत्या गरेर गायब भएका प्रेमी होटलको कोठामा मृत भेटिए

विराटनगर : २३ वर्षीया नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न रहेको शङ्का गरिएका उनका प्रेमी शिवशङ्कर दासको शव फेला परेको छ। नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रवार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो। उनका प्रेमी मानिएका २२ वर्षीय शिवशङ्कर दास पनि मृत भेटिए।

नर्सको हत्या भएको कोठा नजिकै रहेको होटेल फाइनको कोठा नम्बर १०२ मा उनको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सिराहाको फुल्काहकट्टी नगरपालिकाकी चन्द्रिका नोबेल मेडिकल कलेजमा काम गर्दै थिइन्। उनको शव भेटिदा घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको देखिएपछि हत्या भएको प्रहरीको निष्कर्ष थियो।

उनको प्रेमी शिवशङ्कर वैदेशिक रोजगारका लागि मलेसियामा रहेको र उनी फागुन २६ मा काठमाडौँ आएर सिराहामा रहेको घरमा नगई विराटनगर गएर चन्द्रिकाको कोठामा बसेको खुलेको थियो।

बिहीबार दिउँसो चन्द्रिकाको हत्या गरेर शव बाथरुममा राखी फोटो खिचेर कोठाबाट निस्कँदै कोठाको चाबी नजिकै कोठामा बस्ने चन्द्रिकाको साथीलाई दिएर हिँडेका थिए।

शुक्रवार दिउँसो चन्द्रिकाको साथीको ह्वाट्सएप नम्बरमा चन्द्रिकाको शवको तस्बिर आएपछि उनको हत्या भएको खुलेको थियो।

मोबाइल नम्बर अन अनि अफ भइरहँदा कञ्चनबारी आसपास देखिएपछि प्रहरी टोलीले सर्च गर्दा फाइन होटेलमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो।

५ चैत, २०८०, १२:५१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।