प्रहरीले पक्राउ गर्ने सूचना पाएर भागेका थिए महरा, प्रहरीले पकडीको सडकमा ब्यारिकेट राखेर समात्यो

प्रहरीले पक्राउ गर्ने सूचना पाएर भागेका थिए महरा, प्रहरीले पकडीको सडकमा ब्यारिकेट राखेर समात्यो
प्रहरीले पक्राउ गरेर विमानस्थलमा विमान चढाउन लग्दै गरेका महरा। तस्बिर : प्रकास डुम्रे

बुटवल : भेपमार्फत भएको सुन तस्करीमा जोडिएका पूर्व सभामुख एवं सत्तारुढ दल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेर पुन अनुसन्धान सुरू गर्न प्रहरीले तयारी गर्दा-गर्दै उनी सोमबार काठमाडौंबाट बाहिरिए।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा उनीमाथि अनुसन्धान गरेर मुद्दा प्रक्रियामा लैजान सिफारिस गरेपछि आइतबार मात्रै गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक र सीआईबी प्रमुखलाई मन्त्रालयमा बोलाएर प्रतिवेदनको सिफारिस अनुसार अनुसन्धान गर्न निर्देशन दिएका थिए।

प्रहरीले उनीमाथि निगरानी राखिसकेको थिएन। उनी एकाएक भैरहवा हुँदै दाङ हिँडेको सूचना आएपछि प्रहरी प्रधान कार्यालयले पक्राउ गर्न निर्देशन दिएको थियो। स्थलमार्गबाट दाङ हिँडेका महरालाई पक्राउ गर्न कपिलवस्तु प्रहरीले निर्देशन पाएलगत्तै पकडीको सडकमै प्रहरीले ब्यारिकेट लगायो।

महरा चढेको गाडी आएपछि रोकेर पक्राउको आदेशबारे जानकारी गराएर नियन्त्रणमा लिँदै भैरहवा फर्काइयो। उता भैरहवामा काठमाडौं आउन यति एयरलाइन्सको फ्लाइट तयारी अवस्थामा थियो। महरालाई काठमाडौं लैजानुपर्ने भएपछि प्रहरीले विमानस्थलमा फोन गरेर फ्लाइट रोक्यो। एक घण्टा जहाज होल्ड गरेर महरालाई सोही विमानमा राखियो।

भेपमा लुकाएर भएको सुन तस्करीको मुख्य योजनाकार चिनियाँ नागरिकसँग महरा र उनको छोरा राहुलको बाक्लो सम्पर्क खुले पनि पहिलो चरणको अनुसन्धानमा यी दुवैले उन्मुक्ति पाएका थिए।

तर, उनीहरूको सम्पर्क र सम्बन्धबारे सीआईबीको प्रस्तावित रायसँगै अभियोग पत्रमा समेत उल्लेख थियो। महरा र राहुलको शङ्कास्पद सम्बन्ध देखिए पनि अनुसन्धानमा नतानिएको विवरणहरू सार्वजनिक भएपछि दबाबमा आएको प्रहरी प्रशासनले दुवै जनालाई अनुसन्धानको दायरामा ल्यायो। तर, राहुल प्रतिवादी बने पनि कृष्णबहादुरले दोस्रो पटक पनि उन्मुक्ति पाए।

चिनियाँ नागरिक फलफूल व्यापारी रहेको र त्यसैको क्रममा सम्पर्क हुने गरेको महराको दाबी थियो। छोरा राहुल पुर्पक्षका लागि थुनामा गए। उनी प्रतिवादी समेत बनेनन्।

​​पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले महराको बयान लियो र सुन तस्करीमा महराको संलग्नता रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। त्यही अनुसार प्रहरीले उनलाई पक्राउको तयारी गरेको थियो। उनी पक्राउबाट उम्कन दाङ हिँडेका थिए।

महराको यो दोस्रो प्रहरी हिरासत हो। यस अगाडि उनी सभामुख हुँदा संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेर पुर्पक्षका लागि कारागारै पुगेका थिए।

पछि जिल्ला अदालतले दाबी नपुग्ने ठहर गर्दै उनलाई सफाइ दिएपछि १ सय तीन दिनपछि थुनामुक्त भएर राजनीतिमा सक्रिय हुने प्रयास गर्दै माओवादी केन्द्रको उपाध्यक्ष भएका थिए।

५ चैत, २०८०, ११:२१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।