सुप्रिम सहकारी ठगीका पाँचैजना रुपन्देहीमा, पुनको आठ दिन म्याद थपियो

सुप्रिम सहकारी ठगीका पाँचैजना रुपन्देहीमा, पुनको आठ दिन म्याद थपियो

बुटवल : बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

आइतबार रुपन्देही जिल्ला अदालतले उनलाई ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शुक्रवार साँझ काठमाडौँमा पक्राउ गरेको थियो।

उनलाई प्रहरीले शुक्रवार राति नै बुटवल ल्याएको थियो। दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् । इलाका प्रहरी कार्यालय बुटवलले झन्डै एक महिनादेखि सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रहरीले यसअघि नै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईँ पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

उनीहरूको बयानका आधारमा पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए।

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ सङ्कलन गरेकामा ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरी छ ।

४ चैत, २०८०, २१:३४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।