गण्डकी प्रदेशमा दीपक मनाङेको ट्विस्ट, एकीकृत समाजवादी छाड्न निवेदन दिए

गण्डकी प्रदेशमा दीपक मनाङेको ट्विस्ट, एकीकृत समाजवादी छाड्न निवेदन दिए

काठमाडौँ : माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार बनाउन सत्ताधारी गठबन्धनले गृहकार्य सुरु गरे लगत्तै सांसद राजीव गुरुङ( दीपक मनाङे)  ले सत्ता गठबन्धनमा ट्विस्ट ल्याएका छन्।

स्वतन्त्र सांसद भए पनि उनी केही समय अगाडि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। यस अगाडि केन्द्रमा माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीसहित सरकार बने पनि प्रदेशमा भने एकीकृत समाजवादीले मन्त्री पाएन।

सरकार बनाउन मनाङेको मत निर्णायक हुने भएपछि उनले आइतबार प्रदेशसभा सचिव हरिराज पोखरेललाई भेटेर एकीकृत समाजवादी त्यागेको र अब आफूलाई स्वतन्त्र सांसदको रूपमा संसदीय अभिलेख सच्याउन माग गर्दै पत्र बुझाएका छन्।

अहिले गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्। केन्द्रमा सत्ता समीकरण बदलिएसँगै उनले पनि प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त गरेसँगै विश्वासको मत फिर्ता लिएको थियो।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ। कांग्रेससँग २७ प्रदेश सभा सदस्य छन्। गण्डकीमा एमालेको २२, माओवादीको ७, राप्रपा दुई, नेपाल समाजवादीको एक र एक जना स्वतन्त्र सांसद निर्वाचित भएका थिए।

सभामुख माओवादीबाट छन् भने उपसभामुख एमालेबाट। मनाङे गठबन्धनमा रहेको अवस्थामा सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्न सक्ने सम्भावना थियो। तर एकाएक उनी स्वतन्त्र सांसद बन्न निवेदन दिएका छन्।

कांग्रेस, राप्रपा र स्वतन्त्र सांसद मिल्दा पनि ३० मात्र पुग्छ। नेपाल समाजवादीबाट निर्वाचित सांसद माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचित भएका हुन्।

उता कोशीमा जस्तै माओवादी केन्द्र र एमालेले सभामुख र उपसभामुखबाट राजीनामा गराएर सरकार बनाउनसक्ने अवस्था थियो। तर त्यसका लागि मनाङेको मत निर्णायक थियो। एकीकृत समाजवादीबाट ह्विप लाग्नसक्ने देखेपछि उनले स्वतन्त्र सांसदको मान्यताका लागि निवेदन दिए। सो निवेदन स्विकार भएमा गठबन्धनका लागि राप्रपाको साथ नभई सरकार बन्न सक्दैन।

यो अवस्थामा दुवैतिरको समूहसँग सरकार निर्माणका लागि आवश्यक बहुमत नपुग्ने देखिन्छ। यस्तो अवस्थामा प्रदेश सभाका सबैभन्दा ठुलो दलको रूपमा कांग्रेसले सरकार बनाउने दाबी गर्न सक्ने देखिन्छ। तर बहुमत जुटाउन भने सहज देखिँदैन।

४ चैत, २०८०, १८:५८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।