पर्यटकीय राजधानी घोषणा कार्यक्रममा व्यवसायीको माग' पहिला सडक र विमानस्थल चल्नुपर्‍यो'

पर्यटकीय राजधानी घोषणा कार्यक्रममा व्यवसायीको माग' पहिला सडक र विमानस्थल चल्नुपर्‍यो'

काठमाडौँ : पोखरलाई आइतबार पर्यटकीय राजधानीका रूपमा घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष व्यवसायीहरूले पहिला सडक निर्माणको काम चाँडो सक्काउन माग राखे।

पोखरामा एक रात बास बसेर पर्यटकीय राजधानी घोषणा गरेका प्रधानमन्त्रीसँग भेटेर आठ बुँदे माग राखे। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्रीलाई दिएको मागमा मुख्यगरी पोखरा मुग्लिङ्ग सडक खण्डको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न ध्यानाकर्षण गराए।

पोखरा मुग्लिङ्ग सडकको अवस्थाकाकारण सडक मार्गबाट पोखरा जान पर्यटकहरूले निकै सास्त पाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्री समक्ष पर्यटन बोर्डको पुनः संरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा संस्थागत साथै पोखराको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी प्रक्रिया अगाडि बढाउनुपर्ने माग समेत राखे।

सरकारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। उनीहरूले एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्सबाट सुरु गरी अन्य एयरलाइन्सलाई पनि सुविधासहितको प्याकेज दिई प्रोत्साहन गर्न समेत उनीहरूले माग गरे।

पोखरा–मुग्लिङ्ग सडक खण्डको निर्माण कार्य समयमै सकी पोखरा–सुनौली राजमार्गको स्तरोन्नति गरिनुपर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा, धरान र अन्य सम्भाव्य स्थानमा समेत स्थायी सोलो प्याराग्लाइडिङ उडान खुलाउने अनुमतिका निर्देशन दिन समेत माग राखे।

व्यवसायीहरूले विशेष रूपमा यातायातको विषयलाई प्राथमिकताका साथ उठाएका थिए। विशेष गरी पोखरासम्म पुग्ने सडक र हवाई मार्गका विषयमा व्यवसायी बढी चिन्तित देखिए।

पोखरा–मुग्लिङ खण्डको स्तरोन्नति सुरु भएको दुई वर्ष बढी समय भइसकेको छ। तर निर्माणको गति सुस्त छ। राजमार्गको दुरावस्थाले पोखराको पर्यटन क्षेत्र खस्किएको व्यवसायीहरूको दुखेसो छ।

२०७८ जेठ २ गते पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिङ खण्डलाई ६ लेनमा स्तरोन्नति गर्ने सम्झौता भए पनि सोहीअनुरूप ८८ किलोमिटर लम्बाइको सडकलाई दुई खण्डमा बाँडेर काम सुरु भइरहेको छ। तर निर्माणको काम सुस्त भएको व्यवसायीको भनाइ छ।

२०७९ पुस १७ मा तामझामका साथ प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

पोखरा महानगरभित्र अन्य प्राविधिक र भौतिक पूर्वाधारको अभाव रहेकोप्रति पनि व्ययवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

महानगरका नागरिकका लागि आवश्यक पर्ने सामान्य पूर्वाधारको विकास नगरी मेयर धनराज आचार्यले पोखरालाई पर्यटकको राजधानी घोषणा गर्न हतार गरेको कतिपय व्यवसायीको गुनासो सुनियो।

पोखराका मुख्य चोकमा राखिएको हाइमाक्स लाइट र ट्राफिक लाइट बिग्रिएको, ग्रामीण भेगमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेर बनाइएका बाटोहरू गुणस्तरहीन भई भत्किएको, महेन्द्रपुलमा निर्माण भएको शौचालय खुलाउन नसकिएको लगायतका समस्याहरू ज्युँका त्युँ रहेको व्यवसायीहरूको भनाइ छ।  

४ चैत, २०८०, १७:४८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।