बुटवलको फोहोर मिलनपार्कमाथिको खोँचमा व्यवस्थापन गर्ने उपमहानगरको तयारी

बुटवलको फोहोर मिलनपार्कमाथिको खोँचमा व्यवस्थापन गर्ने उपमहानगरको तयारी

बुटवल : बुटवलबाट निस्कने फोहोरलाई दीर्घकालिन व्यवस्थापन गर्ने गरी बुटवल उपमहानगरपालिका अघि बढेको छ। हाल बुटवलको फोहोर बुटवल उपमहानगरपालिका-११ सिरान गाउँ मजुवामा डम्प हुँदै आएको छ।

बुटवल उपमहानगरपालिकाले सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले दीर्घकालीन व्यवस्थापन गर्ने गरी तयारी थालिएको बताए। स्थानीयसँग विवाद नहुने स्थानमा फोहोर व्यवस्थापनका लागि ठाउँहरू हेरिरहेको उनको भनाइ छ।

पोखरेलका अनुसार बुटवलको वडा नं. १२ र १३ को सिमाना उत्तरतर्फ फोहोर व्यवस्थापन गर्ने गरी छलफल भइरहेको छ।

‘मिलनपार्क देखि माथिल्लो खोचमा फोहोर फाल्न सकिन्छ कि भनेर छलफलमा छौं। स्थानीयसँग सल्लाह गर्न बाँकी छ। छिट्टै यस विषयमा टुंगो लाग्छ’, उनले भने।

पालिकाले नदी किनारमा फोहोर फाल्ने र पुर्ने कार्य गरिरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। मंगलबार बुटवलको फोहोर सिरान गाउँ मजुवामा फाल्न नहुने भन्दै स्थानीयले १० ट्याक्टर फिर्ता पठाएका थिए।

स्थानीयको अवरोधपछि भएको छलफलमा १९ बुँदे सहमति भएको छ। जसअनुसार उपमहानगरपालिकाले अबको एक वर्ष मात्र सिरान गाउँ मजुवामा फोहोर फाल्नेछ। त्यसपछि अन्य स्थानमा फोहोर व्यवस्थापन गर्नुपर्नेछ।

स्थानीयसँग भएको सहमतिमा प्रभावित क्षेत्रमा विकास योजना निर्माणका लागि ५ लाख बजेट विनियोजन गर्ने, नियमित स्वास्थ्य शिविर गर्ने, प्रभावित क्षेत्रमा रहेको सुर्योदय आधारभुत विद्यालयलाई भौतिक सुधार र दरबन्दी मिलाउने, मजुवामा रहेका सडकहरूको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्ने, फोहोर फालेपछि किटनाशक औषधि छरेर पुर्ने उल्लेख छ।

‘यसअघि पनि यस्तो सहमति नभएको हैन। तर कार्यान्वयन भएन। यस पटक भएको सहमति पनि कार्यान्वयन हुन्छ भन्नेमा शंका छ’, स्थानीय बाबुराम लम्सालले भने।

सिरानगाउँ मजुवामा फोहोर फाल्दा त्यसबाट प्रत्यक्ष मजुवा, प्रवेशनगर, धुव्र नगर, दुर्गानगर, भगवती टोल, शिवालय टोल प्रभावित हुने गरेका छन्।

अहिले बुटवलको १ देखि ६ नंं वडा सम्म वातावरण सुन्दर नेपाल संस्थाले फोहोर उठाउने गरेको छ। त्यस्तै ७ र ८ को फोहोर बुटवल सरसफाई सहकारीले, वडा नं. ९ सामुदायिक विकास तथा बातावरण समितिले उठाउने र वडा नं. १० पनि समिति बनाएर फोहोर उठाउने गरिएको छ।

वडा नं. ११ मा भने टोल विकास संस्था, खानेपानी संस्थाहरूले फोहोर उठाएका छन्। वडा नं. १२ र १३ मा वातावरण सुन्दर नेपालले फोहोर उठाउने गरेको छ भने वडा नं. १४ देखि १९ सम्म उपमहानगरपालिकाकै कर्मचारीले फोहोर उठाउने गरेका शाखा प्रमुख पोखरेलले बताए।

त्यसबाहेक ठेक्कामा दिएको बुटवल कृषि थोक बजार केन्द भित्रको फोहोर वातावरण सुन्दर नेपालले उठाउने गरेको छ भने हाटबजारको फोहोर उपमहानगरपालिका आफैँले उठाउँदै आएको छ।

३ चैत, २०८०, ०८:३७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।