एमालेले पार्टी सदस्यहरूको परीक्षा लिने : पहिलोपटक 'फेल' भए मौका नत्र पार्टीबाटै बिदाइ !

एमालेले पार्टी सदस्यहरूको परीक्षा लिने : पहिलोपटक 'फेल' भए मौका नत्र पार्टीबाटै बिदाइ !

बुटवल : एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टी सदस्यहरूको परीक्षा लिने भएको छ।

यही चैत ५ गते हुने परीक्षामा प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यले एकैपटक भाग लिने छन्।

एमालेकी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले परीक्षा लिन लागिएको बताइन्।

उनले यो परीक्षाले संगठनलाई अझ बढी जिम्मेवारी र क्रियाशीलता ल्याउने दाबी गरिन्।

‘यस प्रकारको नयाँ कार्यक्रमले कार्यकर्ताको क्षमता पुष्टि गर्नेछ र जिम्मेवारी के दिने भन्ने निचोड निकालिने छ’ उनले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भनिन्।

निष्क्रिय सदस्यलाई क्रियाशील र जवाफदेही बनाउन यो कार्यक्रम थालिएको भए पनि पहिलो पटक अनुत्तीर्णलाई पुनः अवसर दिइने र पटकपटक असफल भए पार्टीबाट बिदा गरिने रणनीति बनाइएको उनको भनाई छ।

प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते प्रत्येक वडा कमिटीमा परीक्षा लिइने छ। यसमा प्रदेशभरका ८६ हजार २ सय ६० जना नेता-कार्यकर्ताहरू सहभागी हुनेछन्।

उनले पार्टीलाई सांगठनिक रूपमा बलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिने कामले हरेक पक्षमा सुधार हुने र परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने जानकारी दिइन्।

जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र, वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सबै वडा तहमा यसको तयारी भएको र त्यसले पार्टीलाई नै ऊर्जा थप्ने विश्वास लिएको बताए।

प्रचार विभाग प्रमुख डिआर घिमिरेका अनुसार अहिले १२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी हुने छ।

१ चैत, २०८०, १९:१०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।