होस्टलकी छात्रालाई दुर्व्यवहार गरेको आरोपमा सञ्चालक पक्राउ

होस्टलकी छात्रालाई दुर्व्यवहार गरेको आरोपमा सञ्चालक पक्राउ

विराटनगर : होस्टलमा बस्ने एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी  सञ्चालक मधु रेग्मी पक्राउ परेकी छिन्।

होस्टलमा बस्दै आएकी बीएससी नर्सिङ अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो। छात्रामाथि अमानवीय व्यवहार भएको भन्दै आलोचना बढिरहेको बेलामा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो।

होस्टलमा बस्ने छात्रासँग रेग्मीले चैत महिनाको शुल्क मागेको भिडियोमा देखिन्छ। छात्राले चैतको शुल्क अग्रिम दिन नसक्ने बताएपछि रेग्मीले पुस्तक र कोठामा भएका कपडालगायत सामग्री फ्याँक्दै, गाली गर्दै उनीमाथि दुर्व्यवहार गरेकी थिइन्। उनले हातपात समेत गर्दै पैसा दिन नसक्ने भए होस्टलबाट तत्कालै निस्कन भनेको भिडियोमा देखिन्छ।

होस्टलमा बस्ने अन्य छात्राहरूले रोक्न खोज्दाखोज्दै पनि ती छात्रामाथि रेग्मीले हातपात गर्ने र सामान फ्याँकिदिने गरेको भिडियोमा देखिन्छ। 

मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार छात्रामाथि दुर्व्यवहार गर्ने महिलालाई नियन्त्रणमा लिएर घटनाबारे बुझ्ने काम भइरहेको छ। घटनामा पीडित पक्षका तर्फबाट प्रहरीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

३० फागुन, २०८०, २१:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।