रेशम चौधरीले रञ्जितालाई भने- ‘अरे लाटी, प्रचण्डले हाम्रा राजबन्दी रिहाइ गरेका होइनन्’

रेशम चौधरीले रञ्जितालाई भने- ‘अरे लाटी, प्रचण्डले हाम्रा राजबन्दी रिहाइ गरेका होइनन्’

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरी र पत्नी रन्जिता श्रेष्ठबीचको विवाद अहिले सतहमा देखिन थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबाट उनीहरूबीचको मतभेद सुरू भएको हो।

हिजो पार्टी अध्यक्ष रञ्जिताले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई 'ह्विप' जारी गर्दै विज्ञप्ति सार्वजनिक गरिन्। त्यसको केही घन्टा बित्न नपाउँदै उनका पति रेशमले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नहुने र यो गठबन्धन सामेल नहुने विज्ञप्ति जारी गरे।

पछिल्लो केही दिनयता रेशम र रञ्जिताबीचमा वर्तमान सत्ता गठबन्धनमा सामेल हुने/नहुने भन्नेबारे देखिँदै आएको मतभेद फेसबुकमै सार्वजनिक भएको छ।

रेशमले आज आफ्नो फेसबुकमा एउटा स्टाटस राख्दै पछिल्लो मतभेद बुढाबुढीको नभई राजनीतिक मतभेद रहेको बताएका छन्।

उनले यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको लेखेका छन्।

‘म उनलाई (रन्जितालाई) सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ उनले लेखेका छन्।

जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशमले लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न।’

रेशमका अनुसार उनीसहित नाउपाका नेता-कार्यकर्ताहरूलाई माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जेलमुक्त गर्न साथ दिएको रञ्जिताको बुझाइ छ। तर, रेशमले भने यसलाई नकारेका छन्।

उनले लेखेका छन्, ‘उनको (रन्जिताको) भनाइ छ- प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न। अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुई चोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि। अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौं र तिमी पनि मन्त्री भएकी हौ।’

यता, कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा भने रेशमको सहमतिमा नाउपाका मन्त्री नियुक्त भएका छन्। कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी हुन नहुने रन्जिताको मत छ।

पार्टीभित्रको यो विवाद घर झगडा नभई राजनीतिक विषय भएको रेशमको भनाइ छ। रेशम सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धनको पछाडि लाग्न नहुने पक्षमा छन्।

आफू घर परिवारकोभन्दा जनताको मान्छे भएको भन्दै रेशमले रन्जितालाई सम्झाउन नसक्नु हार नभइ विवशता भएको बताएका छन्।

‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन। मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’

‘नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखल्नेवाला छैनौं। जताबाट पनि भलो ठूलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो,’ रेशमले थप लेखेका छन्।

३० फागुन, २०८०, ०९:३४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।