‘कोशीमा माओवादीको मुख्यमन्त्री बन्न मैले नै दिइँन, राष्ट्रियसभामा पनि हार्ने माओवादी अनि दोष हामीलाई?’

‘कोशीमा माओवादीको मुख्यमन्त्री बन्न मैले नै दिइँन, राष्ट्रियसभामा पनि हार्ने माओवादी अनि दोष हामीलाई?’

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई कपोलकल्पित आरोप लगाएर गठबन्धन फेरेको बताएका छन्।

विराटनगरमा गुराँस पुस्तकालयको ५४ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै नेता कोइरालाले आफूले नै कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री हुन नदिएको स्वीकार गरेका छन्।

उनले कांग्रेसका अन्य नेताहरूले कोशीमा माओवादीलाई मुख्यमन्त्री दिने कुरा गरे पनि आफूले नै माओवादीलाई मुख्यमन्त्री नदिएको बताए।

तत्कालीन सत्ता गठबन्धनले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। शीर्ष नेताहरूको निर्णयविरुद्ध विद्रोह गर्दै उनी निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यसअघि गठबन्धन फेरेका प्रधानमन्त्री दाहालले कोशीमा माओवादीको मुख्यमन्त्री हुनुपर्नेमा कांग्रेसले हुन नदिएको आरोप लगाएका थिए।

‘प्रचण्डको सरकारमा हामी पनि थियौँ, उहाँले हठात् नेपाली काँग्रेसलाई भए नभएको कुरा गरेर कपोलकल्पित आरोप लगाएर जानुभयो। कांग्रेसले कोशीमा मुख्यमन्त्री नदिएको समेत भन्नुभयो’, नेता कोइरालाले भने, ‘मै हो नदिने, हाम्रा नेताहरूले त लेउ तिम्रै सरकार बनाऊ भनेर त भनेकै हो। मैले हुँदैन भनेँ, नेपाली काङ्ग्रेसकै नेतृत्वमा हुनुपर्छ भनेर भनेँ।’

राष्ट्रिय सभा निर्वाचनमा माओवादीकी उम्मेदवार हारेपछि त्यसको दोष पनि प्रधानमन्त्री दाहालले कांग्रेसलाई लगाएकोमा असन्तुष्ट पोखे।

उनले भने, ‘जित्न नसक्ने अनि हामीले हरायौ ? त्यस्तो पनि कहीँ हुन्छ?’

२९ फागुन, २०८०, १९:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।