१८ करोडको सिटीस्क्यान खरिदमा मुख्यमन्त्री-मन्त्रीको तानातान : 'मिलेमतो खुल्ने' भयले स्वास्थ्यमन्त्रीले बदले छानबिन समिति

१८ करोडको सिटीस्क्यान खरिदमा मुख्यमन्त्री-मन्त्रीको तानातान : 'मिलेमतो खुल्ने' भयले स्वास्थ्यमन्त्रीले बदले छानबिन समिति

काठमाडौँ : मधेस प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले १८ करोड २० लाखको दुई वटा सिटी स्क्यान मेसिन खरिद टेन्डर प्रक्रिया विवादमा आएपछि छानबिन गर्न गठन गरिएको समिति नै बदलिएको छ।

निश्चित कम्पनीको उत्पादक मात्र मिल्नेगरि मिलेमतोमा स्पेशिफिकेशन बनाएको सार्वजनिक भएपछि मधेस प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनमा प्रदेश स्वास्थ्य मन्त्रालयले मङ्गलवार सिटी स्क्यान खरिदबारे छानबिन गर्न तीन सदस्यीय छानबिन टोली गठन गरेको थियो।

खरिद मिलेमतोमा जोडिएका प्रदेश स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंहले छानबिन समितिले काम सुरु गर्नु अगाडि नै भत्काएर नयाँ समिति गठन गरेका छन्।

मुख्यमन्त्री यादवको निर्देशनमा प्रदेश स्वास्थ्य मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख (उपसचिव) डा. इन्द्रजितकुमार रजकको संयोजकत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत रवीन्द्र यादव र बायोमेडिकल इन्जिनियर शैलेन्द्र यादव सदस्य रहेको समिति गठन भएको थियो।

समितिले काम सुरु गर्नु अगाडि नै प्रदेश स्वास्थ्य मन्त्री सिंहको निर्देशनमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव झाको संयोजकत्वमा बिहीबार डा. रजक र बायोमेडिकल इन्जिनियर अमृत भण्डारी राखेर नयाँ समिति गठन गरियो।

डा. रजक पहिलो समितिमा पनि सदस्य थिए। नयाँ समितिमा प्रदेश स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत रवीन्द्र यादव र बायोमेडिकल इन्जिनियर शैलेन्द्र यादव हटाइयो।

पछिल्लो छानबिन समितिका संयोजक डा. झा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हुन् भने समितिका सदस्यका रूपमा राखिएका बायोमेडिकल इन्जिनियर भण्डारी काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल(प्रसूति गृह)का बायोमेडिकल इन्जिनियर हुन्।

मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी रवीन्द्र प्रसाद यादवले सिटी स्क्यान खरिदमा देखिएको विवादको अध्ययन गर्न प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकको रूपमा कार्यरत डा. झाको संयोजकत्वमा डा. रजक र बायोमेडिकल इन्जिनियर भण्डारी सहितको तीन सदस्यीय छानबिन समिति गठन भएको पुष्टि गरे।

‘डा. राजीव झा त्यसको संयोजक हुनुहुन्छ,’सूचना अधिकारी यादवले भने,‘उहाँको अध्यक्षतामा बिहीबार तीन सदस्यीय समिति गठन भएको हो।’

सूचना अधिकारी यादव नयाँ बनेको समितिले मङ्गलवारबाट छानबिनको काम सुरु गर्न सक्ने बताउँछन्। मिलेमतोमा अगाडि बढेको दाबी गरिएको खरिदमा मन्त्री सिंह र उनको भाइ समेत जोडिएका थिए। जसको भूमिकाबारे छानबिन हुनुपर्ने हो उसैले हस्तक्षेप गरेर आफू अनुकूल नयाँ समिति गठन गरेपछि छानबिन समेत शङ्कामा परेको छ।

यो भन्दा अगाडि डा. रजककै संयोजकत्वमा बनेको समितिले कामै नगरी किन नयाँ समिति बनाएको भन्ने जिज्ञासामा मन्त्रालयका सूचना अधिकारी यादवले त्यो बेलामा समिति गठन नभएको दाबी गर्दै तीन जनाको समिति गठन गर्ने भन्ने मानसिकता मात्र रहेको र समितिमा रहेका कसैलाई चिठी पनि नदिएको दाबी गरे।

मङ्गलवार गठित छानबिन समिति लिखित नभई मौखिक मात्रै भएको सूचना अधिकारी यादवको दाबी थियो। बिहीबार गठन भएको छानबिन समिति भने स्वास्थ्यमन्त्रीकै अध्यक्षतामा बसेको बैठकले गठन गरेको उनले बताए।

‘शैलेन्द्र यादव पहिला आपूर्ति व्यवस्थापन केन्द्रको कर्मचारी हुनुहुन्थ्यो। अनि केही काम उहाँले पनि एक्सरसाइज त्यसमा गर्नुभएको रहेछ,’सूचना अधिकारी यादवले भने,‘त्यो भएकोले उहाँ (शैलेन्द्र)लाई राख्दा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट देखिन्छ की भन्ने स्वार्थको द्वन्द्व हुन्छ ,अलि निष्पक्ष हुँदैन की छानबिन भनेर त्यसपछि मन्त्रीज्यूकै अध्यक्षतामा एउटा बैठक बसेर माइन्युट गरेर तीन सदस्यीय समिति बनाएको हो।’

सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया अगाडि बढाउनु अगाडि बायोमेडिकल इन्जिनियर शैलेन्द्र यादवको सरुवा भएको थियो। उनी स्थायी बायोमेडिकल इन्जिनियर हुन्। उनलाई हटाएर करारमा वन्दना मिश्रालाई ल्याएर काम गराइएको थियो।

निश्चित कम्पनीको सिटी स्क्यान मेसिन महँगोमा किन्नेगरि मिलेमतोमा स्पेशिफिकेशन बनाएको भन्दै प्रदेशदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परेपछि प्रदेशले समिति गठन गरेको थियो।

पहिलो समितिले आफू अनुकूल प्रतिवेदन नदिने जोखिम देखेपछि मन्त्री सिंहले हस्तक्षेप गरेर अर्को समिति बनेको देखिन्छ।

सरकारी स्थायी बायोमेडिकल इन्जिनियर नभएका हैनन्। खरिद प्रक्रियामा रहेको सिटी स्क्यानको छानबिनका लागि प्रसूति गृहमा रहेका करारका बायोमेडिकल इन्जिनियर लगिनुले पनि छानबिन शङ्कास्पद देखिन्छ। यस विषयमा मन्त्री सिंहसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

टेन्डरमा मिलेमतो गर्न निर्देशकदेखि इन्जिनियरसम्म सरुवा

खरिदको टेन्डर निकाल्नु तीन महिनाअघि नै मधेस प्रदेशको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’का तत्कालीन निर्देशक डा. नागेन्द्र यादवको सरुवा भयो। यादव सिराहा जिल्ला अस्पतालमा पुगे। उनको स्थानमा डा. मनिष पाण्डे आए।

अनि पालो आयो स्थायी बायोमेडिकल इन्जिनियर शैलेन्द्र यादवको। उनी काजमा थिए। उनको काज फिर्ता गराएर सिराहा अस्पताल पठाइयो। अनि मधेश प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले १८ करोड २० लाखमा दुई सिटी स्क्यान मेसिन किन्ने टेन्डर निकालियो।

स्पेशिफिकेशन लक्ड गरेर आपूर्ति केन्द्रले मेसिन उत्पादक कम्पनी ‘फिलिप्स’ को उत्पादनसँग मात्र मिल्नेगरि स्पेशिफिकेशन बनाएको भन्दै उजुरी पर्यो।

फिलिप्सको नेपाली एजेन्ट हस्पिटेक प्रालि हो। यसका प्रमुख विशाल पण्डित हुन्। पण्डितसँग यसबारे जिज्ञासा राख्दा उनले मिलेमतो अस्वीकार गरेका थिए।

उजुरीको आधारमा मधेस प्रदेश मुख्यमन्त्रीको निर्देशनअनुसार प्रदेश स्वास्थ्य मन्त्रालयले मङ्गलवार छानबिन गर्न समिति गठन भयो। समितिमा रहेका मन्त्रालयका उपसचिव डा. रजकले उकेरासँग आफ्नो संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको पुष्टि गरेका थिए।

‘छानबिनको लागि समय तोकिएको छैन,’उनले उकेरासँग भनेका थिए,‘सकभर हामी छिट्टै गर्छौँ।’ तर पछि मन्त्रीले समिति नै बदले।

मधेस प्रदेशको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले २०८० फागुन १० गते बिहीबार (फेब्रुअरी २२, २०२४) मा १२८ स्लाइसको दुई वटा सिटी स्क्यान मेसिन करिब १८ करोड २० लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो।

सिटी स्क्यान खरिदका लागि प्रिबिड बैठक फागुन २७ गते (मार्च १०, २०२४)लाई तोकिएको छ। त्यसैगरी चैत १० गते (मार्च २३, २०२४) सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको छ।

२८ फागुन, २०८०, २१:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।