‘पृथ्वीनारायण शाहले ४ वर्ण ३६ जातको फूलबारी भन्यो तर शासकहरूले साझा फूलबारी बनायो त? बनाएन।’

‘पृथ्वीनारायण शाहले ४ वर्ण ३६ जातको फूलबारी भन्यो तर शासकहरूले साझा फूलबारी बनायो त? बनाएन।’

काठमाडौं : राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले मधेशी नेताहरूमाथि आक्रोश पोखेका छन्।

जनकपुरधाममा आयोजित बहुल राष्ट्रिय राज्य निर्माणका लागि बृहत् संवादात्मक कार्यक्रममा उनले कांग्रेस र कम्युनिस्टबाट आएका मधेशी नेताहरू पनि औपनिवेशिक र नश्लीय चिन्तनले भरिएको आरोप लगाए।

‘कांग्रेस र कम्युनिस्टमा औपनिवेशिक र नश्लीय चिन्तनले भरिएको पार्टी हो,’ नेता महतोले भने, ‘त्यहाँ नेतालाई पनि त्यस सम्बन्धी शिक्षा दिन्छ। त्यसैले त्यहाँबाट नेताहरू त आए, तर आफूमा सुधार गर्न सकेनन्।’

उपेन्द्र यादव र महन्त ठाकुरलाई लक्षित गर्दै उनले मधेशी नेताबाटै आफूले धेरै दुख पाएको पीडा पोखे।

उनले प्रश्न गरे, ‘मधेश त ६ वर्षदेखि मधेशी नेताकै हातमा छ। सत्ता चलाइरहेको छ। तर के परिवर्तन भयो?’

उनले पृथ्वीनारायण शाहदेखि पुष्पकमल दाहाल प्रचण्डसम्मले शासन गर्दा पनि हरेक जातजाति र समुदाय पहिचान र अधिकारबाट वञ्चित रहेकाले बहुल राष्ट्रिय राज्य बनाउन अभियान सुरू गरेको बताए।

‘पृथ्वीनारायण शाहले त यो देशलाई चार वर्ण ३६ जातको फूलबारी त भन्यो तर शासकहरूले साझा फूलबारी बनायो त? बनाएन,’ नेता महतोले भने, ‘मधेशी, जनजातीय, थारू लगायतले पहिचान र अधिकार लामो संघर्ष गर्दा पनि पाएनन्। अधिकारका लागि आन्दोलन गर्दा दमन गरियो। छाती र टाउकोमा गोली मारेर संविधान बनायो।’

२६ फागुन, २०८०, २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।