पटुवाको सन्ठीले घोच्दा नरिवल झर्दैन, कोशी सरकार ढल्दैन : मुख्यमन्त्री

पटुवाको सन्ठीले घोच्दा नरिवल झर्दैन, कोशी सरकार ढल्दैन : मुख्यमन्त्री

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार परिवर्तन नहुने बताएका छन्।

झापाको बिर्तामोड-३ स्थित बिर्ता बजारमा आज मदरसा तालिमुल कुरानको भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले केन्द्रीय सत्ता गठबन्धन बदलिए पनि त्यसले कोशी सरकार भने नढल्ने बताएका हुन्।

कोशीमा एमालेले मुख्यमन्त्रीको राजीनामा मागिरहेको तर्फ संकेत गर्दै उनले भने, ‘पटुवाको सन्ठीले घोच्दा नरिवल झर्दैन।’

कार्यक्रममा मुख्यमन्त्री कार्कीले विद्यार्थीलाई सक्षम बनाउने दायित्व प्रदेश सरकारको पनि भएको बताउँदै पढाइमा अब्बल रहेका विद्यार्थीलाई प्रदेश सरकारले पैसा तिरेर पढाउने प्रतिबद्धता जनाए।

आर्थिक अवस्थाका कारण अध्ययनबाट बन्चित बालबालिकालाई प्रदेश सरकारले नै पढाउने वातावरण सिर्जना गर्ने योजना पनि अघि बढाइएको उनको भनाइ छ।

त्यस अवसरमा मुख्यमन्त्री कार्कीले भवनको शिलान्यास गरेका थिए। उक्त मदरसा भवन निर्माणका लागि ४८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

२६ फागुन, २०८०, १९:४६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।