डा. शैलीको उपचार अनुभव : वीर अस्पतालका भोलेन्टियर चिकित्सकले एउटा दाँत निकाल्नुपर्नेमा अर्कै निकालिदिएपछि तनाव

डा. शैलीको उपचार अनुभव : वीर अस्पतालका भोलेन्टियर चिकित्सकले एउटा दाँत निकाल्नुपर्नेमा अर्कै निकालिदिएपछि तनाव

५८ वर्षीया प्रा.डा. शैली प्रधान दन्त रोग विशेषज्ञ हुन्। विशेषगरी गिजाको औषधि उपचार तथा गिजाको मर्मतसंभार, परामर्श र अध्ययन अध्यापनमा केन्द्रीत हुनु उनको दैनिकी हो। नेपाल सरकारको प्रमुख कन्सल्टेण्ट डेन्टल सर्जन ११औं तहकी डा. शैली वीर अस्पतालको दन्त विभागको प्रमुखको भूमिकामा कार्यरत छिन्। उनै डा. शैलीले चिकित्सकीय पेशाको शिलशिलाका केही तितामिठा अनुभव उकेरासँग साटिन्।

एउटा दाँत निकाल्नुपर्ने झुक्किएर अर्कै दाँत निकालिएपछि...
वीर अस्पतालमा काम गर्दाको एउटा घटना डा. शैली कहिल्यै भुल्दिनन्। घटना करिब सात वर्षअघिको हो। दाँतको समस्या लिएर एक जना पुरुष अस्पताल पुगे। परीक्षणको क्रममा उनको एउटा दाँत निकाल्नुपर्ने देखियो।

अस्पतालमा आवश्यक तयारीपछि ती पुरुषको दाँत निकाल्ने प्रक्रिया शुरू भयो। ती पुरुषको दाँत वीर अस्पतालमा भोलेन्टियर रूपमा काम गर्न आएका चिकित्सकले निकाले। तर, ती भोलेन्टियर चिकित्सकले दाँत निकाल्ने क्रममा झुक्किँदा त्रुटी भयो। एउटा दाँत निकाल्नुपर्ने ठाउँमा सँगैको अर्कै दाँत निकाल्न पुगे।

भोलेन्टियर काम गर्ने चिकित्सकले ती पुरुषको एउटा दाँत निकाल्नुपर्नेमा अर्कै निकालिदिएपछि हंगामा नै मच्चियो। अस्पतालको दन्त विभागको प्रमुख भएको नाताले डा. शैलीलाई पनि त्यो घटनाले तनाव हुने नै भयो। बिरामी पक्षलाई दाँत निकाल्दा त्रुटी भएबापत क्षतिपूर्ति स्वरुप दाँत लगाइदिने लगायतको सुविधा दिएपछि भने त्यो समस्या समाधान भएको उनले सुनाइन्।

त्यो बेला वीर अस्पतालमा दन्त विभागमा सिनियरहरूको निगरानीमा विना तलब काम सिक्न आउने चिकित्सकको चाप बाक्लै हुन्थ्यो। तर, त्यो घटनापछि आफूले वीरको दन्त चिकित्सा विभागमा भोलिन्टियर काम गर्न आउनेलाई नै रोकिएको उनले सुनाइन्।

‘त्यो घटनापछि मैले यहाँ भोलिन्टियर बन्द गरेँ’, डा. शैलीले भनिन्।

ती पुरुषको दाँत निकाल्दा भोलिन्टियर काम गर्ने चिकित्सकले झुक्किएर गरेको त्यो त्रुटीबाहेक वीर अस्पतालमा त्यस किसिमको त्रुटी भएको आफूले थाहा नपाएको पनि डा. शैलीले सुनाइन्।

ती बाजेले खुसी भएर दुई दाना मोती उपहार ल्याइदिएपछि...
त्यसो त दन्त चिकित्सकको रूपमा काम शुरू गर्दा बिरामी खुसी भएर उपहार नै ल्याइदिएको एउटा सुखद् क्षण सम्झँदा डा. शैलीलाई आनन्द लाग्छ। दाँतको समस्या भएका ६५ वर्षका बाजेको दाँतको उपचार उनले गरेकी थिइन्। दाँतको समस्याले पीडामा परेका ती बाजेको दाँतको समस्या ठिक भएछ।

दाँतको समस्या ठिक भएपछि एक दिन ती बाजे अस्पतालमा फलोअपका लागि पुगेछन्। ती बाजेले डा. शैलीलाई भेटे। भेटेपछि उनले डा. शैलीलाई दुई वटा मोती उपहार दिए।

डा. शैलीलाई मोती उपहार लिन निक्कै असहज लाग्यो। तर, उपहार स्वीकार नगर्दा ती बाजेले चित्त दुखाउने डर भयो। त्यसैले दाँतको समस्या ठिक भएर ती बाजेले उपचार गरेर समस्या समाधान गरिदिने चिकित्सकलाई श्रद्धापूर्वक ल्याइदिएको उपहार डा. शैलीले लिइन्।

डा. शैलीलाई सम्झना भएसम्म ती बाजेले भुटान वा कतै विदेशबाट मोतीका दाना उपहार ल्याइदिएको उनलाई सुनाएका थिए। उपहार दिएपछि ती बाजे खुसी हुँदै मुस्कुराएर घर फर्किए। ती बाजेले श्रद्धापूर्वक उपहार स्वरूप दिएको मोतीका दानालाई उनले गहनाको रूपमा लगाइन्। ती मोतीका दाना उनीसँग अझै छन्।

‘उहाँले दुई वटा स्टोन दिनुभएको थियो, त्यो आजसम्म पनि छ’, उनले सुनाइन्।

श्रीमतीलाई क्यान्सर हुँदा श्रीमान्को आँखामा आँसु
केही वर्षअघि एक जना महिलाको जिब्रोमा क्यान्सर देखिएको घटना पनि डा. शैलीको मानसपटलमा ताजै छ। करिब ४५ वर्षकी महिलाको जिब्रोमा घाउजस्तो देखिएपछि उनका श्रीमान्ले स्वास्थ्य परीक्षणका लागि लिएर अस्पताल ल्याए।

अस्पतलमा डा. शैलीको टिमले शल्यक्रिया गरी निकालेर त्यो घाउको परीक्षण (बायोप्सी) गर्न पठायो। तर, बायोप्सी रिपोर्टमा ती महिलाको जिब्रोमा क्यान्सर भएको पुष्टि भयो। श्रीमतीको जिब्रोको घाउको रिपोर्ट आएपछि उनका श्रीमान् डा. शैलीकहाँ पुगे।

श्रीमतीको जिब्रोमा क्यान्सर भएको थाहा पाएपछि ती महिलाका श्रीमान्को आँखा आँसुले भरिए। ती महिलाका श्रीमान् बोल्नै सकेनन्। उनको आँखाभरी आँसु भरिएको देख्दा डा. शैलीको पनि मन कटक्क भयो।

डा. शैलीले क्यान्सरको प्रकृति अनुसार उपचार गर्न सल्लाह दिइन् र उपचारका लागि रिफर गरिन्। क्यान्सर भएकी श्रीमती लिएर उनका श्रीमान् गहभरी आँसु बोकेरै अस्पतालबाट फर्किए।
त्यसपछि ती महिलालाई के भयो डा. शैलीलाई थाहा भएन। ती महिला उपचारपछि ठिक भइन् भन्ने उनलाई विश्वास छ।

असनमा जन्म
शैली प्रधान २०२२ मा काठमाडौंको असनस्थित ज्याठा टोलमा जन्मिएकी हुन्। उनले काठमाडौंको लैनचौरस्थित कन्या माविबाट २०३६ मा एसएलसी गरिन्। शैलीले अमृत साइन्स क्याम्पसबाट आईएससी गरिन्। शैलीलाई डाक्टर पढ्ने खुब रहर थियो। त्यसैले आइएस्सीपछि उनले डाक्टरी विषय अध्ययनका लागि तयारी गरिन्।

शिक्षा मन्त्रालयको छात्रवृति कोटामा पाकिस्तानमा बीडिएस (ब्याचुलर अफ डेन्टल सर्जरी) अध्ययन गर्ने मौका पाइन्। पाकिस्तानको युनिभर्सिटी अफ सिन्धको लियाकत मेडिकल कलेजमा बीडिएस (ब्याचुलर अफ डेण्टल सर्जरी) अध्ययनका लागि सन् १९८४ मा उनी भर्ना भइन्। पाकिस्तानमा बीडिएस अध्ययनका क्रममा दंगा र हडताल भइरहन्थ्यो। त्यो तनावकै बीचमा पनि उनको अध्ययन भने अब्बल भयो। सन् १९९० बीडिएस अध्ययन पूरा गरेर शैली नेपाल फर्किइन्।

नेपाल फर्केपछि उनले पाटन अस्पतालमा करिब नौ महिना मेडिकल अधिकृत (हाउस अफिसर)का रूपमा करार जागिरे भएर काम गरिन्। त्यहाँ आफूले राम्रो काम गर्दै थप सिक्ने मौका पाएको उनले सुनाइन्। पाटनको जागिरपछि डा. शैलीले अस्थायी जागिरेका रुपमा २०४७ मा वीर अस्पतालमा काम गर्न थालिन्।

त्यहाँ काम गरेको केही महिनामा २०४८ मा डा. शैली लोकसेवा परीक्षामार्फत स्थायी सरकारी चिकित्सकका रूपमा जागिरे भइन्। उनी तृतीय श्रेणी (सातौं तह सरह)को डेण्टल सर्जनका रूपमा सरकारी जागिरमा प्रवेश गरिन्। सरकारी जागिरमा प्रवेश गरेपछि उनको पहिलो पोष्टिङ पनि वीर अस्पतालमा नै भयो।

गिजाको पहिलो डाक्टर
डा. शैलीलाई थप अध्ययन गर्नु त छँदै थियो। नभन्दै उनले सरकारी छात्रवृत्ति कोटामा थप अध्ययन गर्ने अवसर समेत पाइन्। डा. शैली सन् १९९७ मा भारत पुगिन्। उनी भारतको कर्नाटक स्थित ‘मणिपाल एकाडेमी अफ हाइयर एजुकेशन (मणिपाल विश्वविद्यालय)’को ‘कलेज अफ डेण्टल सर्जरी’मा मास्र्ट अफ डेण्टल सर्जरी विषय(एमडीएस)मा अध्ययनका लागि भर्ना भइन्।

उनले स्नातकोत्तर तहको एमडीएस अध्ययनमा गिजा सम्बन्धी विषय छनोट गरिन्। गिजासम्बन्धी स्नातकोत्तर तहको अध्ययनको विषयलाई चिकित्सकीय भाषामा ‘एमडीएस पेरियोडण्टिक्स’ भनिन्छ। यो विधाका चिकित्सकलाई विशेषगरी गिजाको औषधि उपचार तथा गिजाको मर्मतसम्भार समेत गर्ने चिकित्सकका रूपमा चिनिन्छ।

आफू ‘एमडीएस पेरियोडण्टिक्स’ विषय अध्ययन गर्ने नेपालको पहिलो चिकित्सक भएको डा. शैलीले सुनाइन्। उनी दुई वर्षे यो विषयको अध्ययन गरेर सन् १९९९ मा नेपाल फर्किइन्। नेपाल डेन्टल एशोसियसनमा पनि उनको नाम २५औं नम्बरमा दर्ता भएको रहेछ।

त्यो बेला उनको पोष्टिङ चितवनमा थियो। तर, उनले चितवनमा काम गरिनन्। भारतबाट एमडीएस अध्ययन गरेर नेपाल फर्किएपछि डा. शैली चितवनबाट सरुवा भएर भक्तपुर जिल्ला अस्पतालमा काम गर्न थालिन्।

भक्तपुरमा उनले दन्त विभागलाई व्यवस्थित बनाउने कोशिस गरिन्। त्यहाँ उनले करिब ६ वर्ष काम गरिन्। भक्तपुरपछि डा. शैली २०६३ मा वीर अस्पतालमा सरुवा भइन्। त्यसयता निरन्तर उनी वीर अस्पतालमा नै कार्यरत छिन्।

डा. शैलीले करिब २० वर्ष आठौं तहमा नै रहेर काम गरिन्। लामो समय बढुवा रोकिएको थियो रे। उनी नवौं तहमा फाइल बढुवामार्फत बढुवा भइन्। नवौं तहमा बढुवा भएपछि ११औं तहको दरबन्दीका लागि खुलातर्फ आवेदन खुल्यो।

डा. शैलीले पनि ११औं तहको लागि लोकसेवा परीक्षा दिइन् र सफल भएर २०७२ मा ११औं तहमा प्रवेश गर्न सफल भइन्। लोक सेवाको खुला प्रतिष्पर्धामार्फत ११औं तहमा बढुवा भएपछि पनि उनको काम निरन्तर वीर अस्पतालमा नै भयो।

डा. शैली २०७३ देखि हालसम्म वीर अस्पतालको दन्त विभागको प्रमुखको भूमिकामा कार्यरत छिन्। उनी नेपाल सरकारको ११औं तहको प्रमुख कन्सल्टेण्ट डेन्टल सर्जन  हुन्। उनी शैक्षिक रुपमा समेत बढुवा हुँदै हाल प्राध्यापकको भूमिकामा छिन्।

दाँत सफा गरेर कमजोर हुँदैन
त्यसो त दाँत सफा गर्दा दाँत कमजोर हुन्छ भन्नु गलत धारणा भएको डा. शैलीले सुनाइन्। बरु दाँत सफा गरेन भने चाहिँ दाँत कमजोर हुँदै जाने समस्या हुने उनले बताइन्। बेलाबेलामा चिकित्सकको सल्लाहमा दाँत सफा गर्यो भने गिजा तथा दाँत बलियो र सफा हुने डा. शैलीले जानकारी दिइन्।

त्यसो त बुढ्यौली लाग्दैमा दाँत कमजोर हुन्छ नै भन्ने धारणामा पूर्णरूपमा सत्यता नभएको उनले सुनाइन्। तर, दाँत फोहोर भएकै कारण दाँत कमजोर भएर हल्लिने उनले सुनाइन्। नियमित दाँत सफा गरेको खण्डमा पाको उमेरमा पनि दाँतले काम गर्न सक्ने उनले डा. शैली बताउँछिन्।

त्यसैले चिकित्सकको सल्लाहमा बेला-बेलामा दाँत सफा गर्न उनको सुझाव छ।

तर, धेरै फोहोरले ढाकेको दाँतको फोहोरको ढिका निकाल्दा भने दाँतको जरा बाहिर देखिन्छ। फोहोरले ढाकेकै कारण दाँतको जरा नरम भएको हुन्छ। त्यो फोहोर नै निकालिदिएपछि केही दिन दाँत सिरिङ-सिरिङ गर्नसक्ने उनले सुनाइन्। कतिपय अवस्थामा भने सही तरिकाले दाँत सफा नगर्दा समेत दाँत सिरिङ-सिरिङ गर्ने जोखिम हुने भएकाले दक्ष चिकित्सकबाट दाँत सफा गर्नुपर्ने उनको सुझाव छ।

अझैपनि धेरै बिरामी दाँतको समस्या जटिल भएपछि अस्पताल पुग्ने गरेको उनले सुनाइन्।
 
शैलीको उपचार शैली
दाँत लगायत मुखमा भएको समस्याको औषधि, उपचार गर्नु मात्रै नभई दन्त चिकित्सा सम्बन्धी अध्ययन गर्ने विद्यार्थीलाई ज्ञान दिनु उनको दैनिकी हो।

विशेषगरी व्यक्तिको श्वास गन्हाएको, मुख गन्हाउने, गिजाबाट रगत आउने, गिजा तल सर्ने, दाँत सिरिङ-सिरिङ हुने जस्ता समस्याको औषधि उपचार गर्नु डा. शैलीको चिकित्सकीय (पेरियोडन्टिक्स) विधा हो।

दन्त चिकित्सक डा. शैली विशेषगरी दाँत तथा मुखसम्बन्धी औषधि उपचार तथा परामर्शमा केन्द्रित हुन्छिन्। मुख तथा दाँत सम्बन्धि समस्या भएर अस्पताल पुगेका बिरामीलाई औषधि उपचार तथा  परामर्श दिएर समस्या समाधानको प्रयास गरी बिरामीलाई खुसी बनाउनु डा. शैलीको उपचार शैली हो।

अहिले मुख स्वास्थ्य सम्बन्धी विभिन्न विशिष्ठिकृत (सुपर स्पेशलाइजेशन) विषयको अध्ययन हुने गरेको उनले सुनाइन्। विशेषज्ञ तहमा गिजा सम्बन्धि विषय, दाँतको सर्जरी गर्ने, दाँत मिलाउने, दाँत लगाउने, आरसिटी गर्ने लगायत ८/९ वटा विद्यामा अध्ययन हुने गरेको डा. शैलीले सुनाइन्।

वीर अस्पतालमा उनले दन्त विभागको सेवा विस्तारका लागि लामो समय मेहनत गरेको देखिन्छ। त्यसो त नेपालमा दाँतको मेसिन बिग्रिएको अवस्थामा बनाउने प्राविधिकको समेत अभाव भएको उनले सुनाइन्। 

डा. शैली नेपालमा सरकारी तहमा छुट्टै एउटा दाँत अस्पताल आवश्यक भएको बताउँछिन्। आफूले पनि छुट्टै दन्त अस्पताल बनाउनुपर्छ भनेर पहल गरे पनि त्यो सम्भव हुन नसकेको उनले सुनाइन्।

२६ फागुन, २०८०, ०९:०४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।