सुदूरपश्चिम सरकार : पद जोगाउने खेलमा मुख्यमन्त्री, नाउपाका ३ मन्त्री थपे तर अझै पुग्दैन बहुमत

सुदूरपश्चिम सरकार : पद जोगाउने खेलमा मुख्यमन्त्री, नाउपाका ३ मन्त्री थपे तर अझै पुग्दैन बहुमत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका हुन्।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुशीराम चौधरी बिना विभागीय मन्त्री र इन्द्र गिरीलाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार बेलुका प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका छन्।

कांग्रेसका मुख्यमन्त्री शाहले केन्द्रीय सत्ता समीकरण बद्लिएसँगै माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाएका थिए।

यसअघि मुख्यमन्त्री शाहले राप्रपा सांसद खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. तारा जोशीलाई पनि सरकारमा ल्याउने गरी कसरत गरेका थिए। तर दुवै सांसदले अहिले तत्काल कुनै निर्णय नगरेको जवाफ दिएका छन्।

५२ जना सांसद रहेको सुदूरपश्चिममा सरकारको बहुमतका लागि २७ जना चाहिन्छ। अहिले कांग्रेस नेतृत्वको सरकारलाई माओवादी र एकीकृत समाजवादीले पनि समर्थन फिर्ता लिइसकेको छ।

यस अवस्थामा नाउपाको साथले मात्र मुख्यमन्त्री शाहलाई बहुमत पुग्दैन।

२५ फागुन, २०८०, २२:००:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।