‘उपहार’ हाउसफुल भएपछि पूजा : ‘टिम नै यति राम्रो छ कि नकारात्मक कमेन्ट आउने कुरै छैन’

‘उपहार’ हाउसफुल भएपछि पूजा : ‘टिम नै यति राम्रो छ कि नकारात्मक कमेन्ट आउने कुरै छैन’

काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले सुखद सुरुवात गरेको छ।

राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्ज लगायतका हल ‘हाउसफूल’ भएका छन्।

फिल्मका निर्देशक देउजाका अनुसार देशभरका हलमा दर्शकको अकुपेन्सी राम्रो छ।

उपहारप्रति दर्शकले राम्रो प्रतिक्रिया दिएपछि हौसिँदै अभिनेत्री पूजा शर्माले भनिन्, ‘मैले सोचेको नै यस्तै प्रतिक्रिया आउला भन्ने थियो। हाम्रो टीम नै यति राम्रो छ कि कुनै नकारात्मक कमेन्ट नै आउँदैन। झन् दर्शकले साँच्चिकै रमाइलो र राम्रो फिल्म बनेको छ भनेर प्रतिक्रिया दिनुभयो,उपहार चल्ने मात्रै होइन दौडिसक्यो।’

त्यस्तै, चलचित्रमा मुख्य हिरोको भूमिकामा रहेका मुकुन भुसालले भने, ‘आज पर्वको दिन बिहानकै सो मा दर्शकको यस्तो अकुपेन्सी पाउनु राम्रो हो। चलचित्रले दर्शकहरुलाई मनोरञ्जन दिएको छ। दर्शक रमाएका छन्। हामी खुशी छौं।’

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा देउजाको निर्देशन छ।

फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ।

२५ फागुन, २०८०, १८:४८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।