संकटमा सिमेन्ट उद्योग : सिजनमा पनि बढेन आन्तरिक माग, भारत निर्यात हुँदा उद्योगीलाई राहत

संकटमा सिमेन्ट उद्योग : सिजनमा पनि बढेन आन्तरिक माग, भारत निर्यात हुँदा उद्योगीलाई राहत

बुटवल : माघ १५ पछि नेपाली बजारमा सिमेन्टको सिजन मानिन्छ। यो बेला नेपाली बजारमा सिमेन्टको खपत बढ्नुपर्ने हो। तर, सिमेन्टको आन्तरिक खपत दिनानु दिन घटिरहेको देखिएको छ।

केही नेपाली सिमेन्ट बिक्रीका लागि भारतीय बजारमा पुगे पनि त्यहाँको बजार दिगो छैन। भारतमा निर्यात गरिरहेका  सिमेन्ट उद्योगहरूले नाफा नकमाई त्यसबाट आन्तरिक खर्च मात्र धानेका छन्।

‘भारतीय बजारमा नेपाली सिमेन्ट पुगे पनि हामीले स्थानीय बजारलाई हेर्ने हो। भारतीय बजार ठूलो छ र प्रतिस्पर्धा पनि ठूलो छ। त्यसैले नेपाली बजारमा सिमेन्टको माग बढेमा मात्र उद्योगहरू राम्रोसँग चल्न सक्छन्’, पाल्पा सिमेन्ट उद्योगका अतुल कुमारले भने।

पश्चिम नवलपरासीको सुनवलमा रहेको पाल्पा सिमेन्टले अहिले दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ। दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भएपनि उद्योग अहिले पूर्ण क्षमतामा चलेको छैन।

पाल्पा सिमेन्टले अहिले भारतमा पनि सिमेन्ट निर्यात गर्दै आएको छ। उद्योगका अनुसार प्रति महिना १ लाख बोरा सिमेन्ट भारतमा विक्रि हुने गरेको छ।

‘बैंकमा पैसा थुप्रिए पनि मानिसले घर बनाएका छैनन्। सिमेन्टका लागि बेष्ट सिजन यो बेला पूर्वाधारका काम पनि सुस्त छन्। भुक्तानी रोकिँदा पनि निर्माण क्षेत्रमा प्रभाव परेको छ’, अतुलले भने।

नेपाली बजारमा सिमेन्टको माग घट्दा रूपन्देहीमा रहेको विशाल सिमेन्ट उद्योग अहिले हप्तामा ३ दिन मात्र सञ्चालन हुन थालेको छ। दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उद्योग हप्तामा ३ दिन मात्र चल्छ। जसबाट ८ हजार बोरा मात्र सिमेन्ट दैनिक उत्पादन गरिन्छ।

विशाल सिमेन्ट उद्योगका निर्देशक महेश काफ्ले नेपाली बजारमा सिमेन्टको मूल्य नहुँदा हप्तामा तीन दिन मात्र उद्योग चलाउनुपर्ने बाध्यतामा रहेको बताउँछन्।

‘अहिले सञ्चालन खर्च उठ्न गाह्रो छ। बजार सिमेन्टको माग ठप्प छ भन्दा पनि हुन्छ,’ उनले भने ‘यहि अवस्था रहे रूपन्देहीमा सञ्चालनमा रहेका आधा दर्जन उद्योग बन्द हुन्छन्।’

३ वर्ष अघिसम्म दैनिक १८ हजार बोरा सिमेन्ट बिक्री गरेपनि अहिले सिमेन्ट उद्योग सञ्चालन मात्र गरिएको उनले बताए।
‘लगानी गरिसकेपछि बन्द गर्नु भएन भनेर सञ्चालकहरूले उद्योग चलाउनुभएको छ,’ उनले थपे, ‘बजारमा सबै वस्तुको मूल्य बढ्दा सिमेन्टको मूल्य भने कम भएको छ। मुल्य कम हुँदा पनि बिक्री छैन।’

विशाल सिमेन्टले कोभिड अघिसम्म वार्षिक २० लाख बोरा सिमेन्ट बिक्री गरेकोमा गत वर्ष भने जम्मा तीन लाख बोरा सिमेन्ट बिक्री गरेको निर्देशक काफ्लेले बताए।

कुनै बेला प्रतिबोरा ५ सय रूपैयाँमा पिपिसी सिमेन्ट बिक्री भएकोमा अहिले उद्योगहरूले प्रतिबोरा ३७० रूपैयाँमा बिक्री गर्दै आएका छन्। ओपीसी सिमेन्टको मूल्य भने प्रतिबोरा ४७० रूपैयाँ छ। उद्योगीहरूका अनुसार ओपीसी सिमेन्टमा प्रतिबोरा १५ रूपैयाँ घाटा छ।

‘मान्छेसँग पैसा छैन। बैंकबाट क्रृण लिएर घर बनाउने आँट अहिले कसैसँग छैन। विकास निर्माणको काम ठप्प हुँदा सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका छन्’, उनले भने।

आफ्नै क्लिङकर रहेको रूपन्देहीमा सञ्चालित अर्घाखाँची सिमेन्ट पनि अहिले पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेको छैन। उद्योगका निर्देशक कृष्ण पाण्डेले स्थानीय बजारमा सिमेन्ट माग कम हुँदा अहिले क्षमताको ५० प्रतिशत मात्र सिमेन्ट उत्पादन गरेको बताए।

अर्घाखाँची सिमेन्ट छिमेकी देश भारतमा समेत निर्यात हुने गरेको छ। भारतमा निर्यात भएपनि स्थानीय बजार चलयमान नहुँदा खासै माग नभएको उनको भनाइ छ। दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन क्षमता भएको उद्योगबाट अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उत्पादन भएको छ। जसमध्ये ५ हजार बोरा सिमेन्ट भारतमा निर्यात हुँदै आएको छ।

अर्घाखाँची सिमेन्ट पटना, लखनउ, बनारस, गोरखपुर, महाराजगञ्ज र सिद्धार्थनगरमा गइरहेको उनले बताए। अर्घाखाँची सिमेन्ट डेढ वर्षदेखि भारतमा निर्यात हुँदै आएको छ।

माग नै कम भएपछि रूपन्देहीमा रहेको सिद्धार्थ सिमेन्ट उद्योग अहिले एक सिफ्ट मात्र चल्छ। उद्योगले कर्मचारी समेत कटौती गर्दै लगेको छ। सिद्धार्थ सिमेन्टका निर्देशक रोहित अग्रवालले अहिले उद्योगको उत्पादन क्षमता भन्दा ५० प्रतिशत सिमेन्ट उत्पादन गरिरहेको बताए।

‘बिक्री भने जस्तो छैन। सरकारको पुँजीगत खर्च छैन। बजारमा पैसाको अभाव छ। त्यसको प्रभाव निर्माण क्षेत्रमा पर्दा सिमेन्टको माग बढ्न सकेन’, उनले भने।

सिद्धार्थ सिमेन्टको दैनिक उत्पादन २५ हजार बोरा हो। तर, अहिले मुस्किलले दैनिक ६ हजार बोरा मात्र सिमेन्ट उत्पादन हुने गरेको छ।

रूपन्देहीमा सञ्चालित रहेका केही सिमेन्ट उद्योगहरू त बन्द जस्तै भएका छन्। जगदम्बा, अग्नि, रियालयन्स जस्ता सिमेन्टले अहिले उत्पादन नै गरेका छैनन्।

सम्राट सिमेन्टले केही समय बन्द भएर पुनः उत्पादन थालेको छ। त्यस्तै पाठक, विशाल सिमेन्ट उद्योग पनि नगन्य सिमेन्ट नगन्य उत्पादन भएको उद्योगीहरू बताउँछन्।

भारत निर्यात हुँदा उद्योगीलाई राहत
नेपाली बजारमा सिमेन्टको माग घटेपनि छिमेकी भारतमा भने केही उद्योगहरूले सिमेन्ट निर्यात गरिरहेका छन्। अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, पाल्पा सिमेन्ट भारतमा निर्यात हुने गरेको छ।

सर्वोत्तम सिमेन्टले अहिले दैनिक ५ हजार बोरा सिमेन्ट भारतमा निर्यात गर्दै आएको छ। भारतीय बजारको सिमेन्ट किन्नुभन्दा नेपालबाट लैजाँदा सस्तो र सहज भएपछि भारतमा सिमेन्टको माग बढेको उद्योगीहरू बताउँछन्।

सरकारले प्रतिवर्ष ५० करोड रूपैयाँसम्म निर्यात गर्नेलाई ४ प्रतिशत र त्योभन्दा माथि निर्यात गर्ने सिमेन्ट उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिन थालेपछि सिमेन्ट उद्योगले भारत निर्यातलाई प्राथमिकता दिन थालेका हुन्।

उद्योगीलाई अनुदान दिने निर्णय तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए। सोही कारण वि.सं.२०७९ साउनदेखि सिमेन्ट निर्यात शुरू भएको थियो।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भारतीय बजारमा नेपाली सिमेन्टको माग बढिरहेको बताए। उनले अनुदान दिएर मात्र नभई अब गुणस्तर प्रमाणीकरण गरेर भारतमा बिक्रीका लागि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए।

एक वर्षको अवधिमा १ खर्बभन्दा बढी मूल्यको सिमेन्ट नेपाली उद्योगहरूले निर्यात गर्नसक्ने उनको भनाइ छ।

२५ फागुन, २०८०, १०:३६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।