माओवादीले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन, अल्पमतमा पाण्डे

माओवादीले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन, अल्पमतमा पाण्डे

काठमाडौं : माओवादी केन्द्रले गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।

‘हामीले हिजै लिनुपर्ने निर्णय थियो, अलि ढिला भयो। सरकारलाई दिएको समर्थन आजको बैठकले फिर्ता लिएको छ। संसद सचिवालयमा पत्र पठाइसकेका छौं,’ चुमानले भने।

मुख्यमन्त्री पाण्डेले हिजो माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए। उनले ‘माथि जस्तो भयो, यहाँ पनि त्यस्तै भयो’ भन्दै दुई मन्त्रीलाई बर्खास्त गरेका थिए।

गण्डकीमा माओवादीले मुख्यमन्त्री पाण्डेलाई दिएको समर्थन फिर्ता लिएसँगै पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ।

सरकार चलाउन ३१ जना सांसदको अंकगणित पर्याउनुपर्ने गण्डकीमा एमाले र माओवादीका कूल २९ सांसद छन्।
कांग्रेस एक्लैको २७ सांसद रहेको गण्डकीमा राप्रपाका दुई र एकीकृत समाजवादीको एक जना सांसद छन्।

त्यहाँ नयाँ गठबन्धनको सरकार बनाउन पनि राप्रपा र एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।

२३ फागुन, २०८०, १३:०८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।