प्रधानमन्त्री गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढंगले अघि बढ्छ : ज्ञवाली

प्रधानमन्त्री गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढंगले अघि बढ्छ : ज्ञवाली

काठमाडौं : एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढंगले अघि बढ्न तयार रहेको बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारम भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्ता गठबन्धनमा संकट परेको स्पष्ट पार्दै एमाले नयाँ ढंगले अघि बढ्न तयार रहेको बताए।

‘सत्ता गठबन्धनमा संकट परेको देखियो। स्थिति परिपक्व भइसकेको छैन, तर केही नयाँ घटनाक्रमहरू विकास हुनसक्ने देखिएको छ,’ उनले भने, ‘सबैभन्दा पहिला त अहिले भइरहेको गठबन्धन टुटाउन प्रधानमन्त्रीज्यू तयार हुनुपर्यो। उहाँ तयार हुनुभयो भने हामी नयाँ ढंगले अघि बढ्न तयार छौँ।’

गठबन्धन परिवर्तनको विषय प्रधानमन्त्रीज्यूमा भरपर्ने भन्दै उनले नयाँ समझदारी र घटनाक्रमको विषय आज दिनभरीमा प्रष्ट हुनसक्ने बताए।

‘हिजो अध्यक्ष ओलीसँगको बैठकमा उहाँ(प्रधानम्न्त्री)ले कांग्रेससँगको सहकार्य बढो कठिन हुँदै गएको, त्यहाँभित्र विवादित मन्त्रीहरूलाई हटाउन खोज्दा पनि नदिइएको र नचाहेको, खासगरी अर्थमन्त्रीले लिएको आर्थिक नीतिले मुलुकलाई झन् अप्ठ्यारोमा पारेको र नयाँ ढंगले अगाडि बढ्न खोजेको संकेत गर्नुभएको छ। आज दिनभरीमा प्रष्ट होला।’

माओवादीसँगको सहकार्यको सन्दर्भमा रहेर उनले संसदमा रहेका शक्तिहरूसँगै आफूहरूले सहकार्य गर्नुपर्ने बाध्यता रहेको भन्दै तुलनात्मक रुपमा जनताले बढी डेलिभरी पाउने शक्तिसँग सहकार्य हुने बताए।

‘एक्लै अगाडि बढ्नसक्ने अवस्था नै रहेन। संसदमा भएका शक्तिहरूसँग कुनै न कुनै हिसाबले सहकार्य गरेर अघि बढ्नुपर्ने बाध्यात्मक परिस्थिति छ। एमालेले तुलनात्मक रुपमा जोसँगको सहकार्य राम्रो हुनसक्छ, जसबाट देश र जनताले डेलिभरी पाउलान्, त्यसभित्र हामीले तुलना गरिरहेका छौं। अन्तिम निर्णय भइसकेको अवस्था हैन।’

२१ फागुन, २०८०, ०९:१५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।