सालिन मृत्यु प्रकरणमा प्रहरीको आग्रह : अनुसन्धानमा प्रभाव पार्ने विषय सम्प्रेषण नगरिदिनुस्

सालिन मृत्यु प्रकरणमा प्रहरीको आग्रह : अनुसन्धानमा प्रभाव पार्ने विषय सम्प्रेषण नगरिदिनुस्

काठमाडौं : छात्रावासमा बालिका मृत फेला परेको घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको भन्दै अनुसन्धानलाई प्रभाव पार्ने विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न चितवन प्रहरीले अनुरोध गरेको छ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले घटनालाई लिएर सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीहरूप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अनुसन्धानलाई प्रभाव पार्न विषय सम्प्रेषण नगर्न आग्रह गरेका हुन्।

शनिबार डिएसपी भण्डारीले जारी गरेको विज्ञप्तिमा घटनाको जानकारी प्राप्त हुनासाथ सिनियर प्रहरी अधिकृतको कमाण्डमा विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको र सुक्ष्म अवलोकन गरिएको जानकारी दिए।

‘प्रस्तुत घटनाको तथ्य परक बस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक संजाल तथा संचार माध्यमहरूमा संप्रेषित विषयबस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान प्रभाव पार्नेगरी कुनै पनि विषयवस्तुहरू सम्प्रेषण नगरी दिनुहुन अनुरोध गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

अहिलेसम्म घटनाको प्रारम्भिक अनुसन्धान सकिएको र तथ्यपरक तथा वस्तुनिष्ठ अनुसन्धान जारी रहेको डिएसपी भण्डारीले जानकारी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाबारे प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेशागत मुल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भईरहेको र बैज्ञानिक प्रयोग तथा प्राबिधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँदछौं।’

गत शनिवार १० बजेतिर चितवन-रत्ननगरको शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बसेर कक्षा ८ मा पढ्दै आएकी १४ वर्षीय सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटना सार्वजनिक भएको थियो। 

मृतक किशोरीको परिवारहरूले स्कुल नेतृत्वलाई पक्राउको माग राख्दै शव उठाउन अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय चितवनले स्कुलका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक कमल शर्मा पौडेल र होस्टेल इन्चार्ज किरणबहादुर अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको छ।

१९ फागुन, २०८०, १९:२९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।