रड र ढुङ्गा प्रहार भएपछि सुन्धारामा प्रतिरक्षा गरेका हौं : महानगर प्रहरी प्रमुख पाण्डे

रड र ढुङ्गा प्रहार भएपछि सुन्धारामा प्रतिरक्षा गरेका हौं : महानगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं : काठमाडौं महानगरपालिकाका महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सुन्धारा घटनामा प्रतिरक्षा गरेको बताएका छन्।

नौ जना प्रहरी घाइते भएको बताउँदै पाण्डेले सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि हस्तक्षेप गरेपछि प्रतिरक्षा गरेको बताएका हुन्।

नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित तीन जनालाई टाउकोमा चोट लागेर गम्भीर घाइते भएको उनको भनाइ छ।

‘त्यस क्षेत्रमा सडक व्यापार नगर्न एक महिना अघिदेखि माइकिङ गरेर सचेत गराइरहेका थियौँ,’ उनले भने, ‘गएको १५ दिनअघि देखि व्यापारीहरूले नगर प्रहरीलाई गाली गर्न थालेका थिए।’

सडकमा व्यापारी आउन थालेको सूचना पाएपछि लामिछानेको कमाण्डमा प्रहरीहरू सुन्धारा पुग्नेबित्तिकै आक्रमण भएको उनको भनाइ छ।

उनले थपे, ‘भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो। यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो। कसैमाथि दमन गर्ने वा घरपकड गर्ने काम हामीबाट भएको छैन। त्यो हाम्रो काम पनि होइन।’

सडक व्यापार पूर्ण निषेध गर्ने महानगरपालिकाको नीति कार्यान्वयन गर्ने महानगर प्रहरी बल दायित्व भएको भन्दै आफूहरूले कर्तव्य गरेको बताए।

१८ फागुन, २०८०, १२:२३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।