काठमाडौँ महानगरको सहयोगमा क्षत्रपाटी चिकित्सालयले किन्न लागेको सिटी-मेमोग्राममा गडबड, सेटिङमा जोडिए बालेनकै सहयोगी

काठमाडौँ महानगरको सहयोगमा क्षत्रपाटी चिकित्सालयले किन्न लागेको सिटी-मेमोग्राममा गडबड, सेटिङमा जोडिए बालेनकै सहयोगी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको आठ करोड सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल)ले करिव १० करोडमा किन्न लागेको सिटी स्क्यान र डिजिटल मेमोग्राम मेसिन खरिद प्रक्रियामा मिलेमतो देखिएको छ।

चिकित्सालयले १२८ स्लाइसको सिटी स्क्यान मेसिन र मेमोग्राम करिब नौ करोड ९४ लाख ४० हजारमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो। यसमा महानगरपालिकाले आठ करोड रकम दिने निर्णय गरेको छ भने बाँकी अपुग रकम चिकित्सालयले नै व्यवस्थापन गर्नेछ।

यी दुवै मेसिन खरिद प्रक्रियामा निश्चित कम्पनीको उत्पादन मेसिनसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन लक्ड गरेर चाहेकै कम्पनीलाई टेन्डर पार्न मिलेमतो भएको देखिन्छ। दुवै मेसिनको खरिदमा तीन करोड हाराहारीको कमिसनको खेल भएको देखिन्छ।

खरिद प्रक्रियामा महानगरका मेयर बालेन्द्र शाहका अनौपचारिक सल्लाहकार बताउने सहयोगी सुदिप ढकाल जोडिएका छन्। चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठ र चिकित्सालयको व्यवस्थापन टिमको भूमिका समेत शङ्कास्पद देखिन्छ।

खरिदमा देखिएको बदनियतबारे जिज्ञासा राख्दा डा श्रेष्ठले भने‘तपाईँलाई जे ठिक लाग्छ त्यही लेख्नुहोस्। मैले साँच्चै त्यस्तै गरेको फिल हुन्छ भने लेखिदिनुहोस्। त्यसको डिबेट म गर्छु नि तपाईँसँग। प्रतिवाद त म गर्छु।'

उकेराले प्राप्त गरेको प्राविधिक स्पेशिफिकेशन अनुसार सिटी र मेमोग्राम मेसिनको टेन्डर ‘ग्लोबल मेडिटेक प्रालि’ले पाउने गरी लक्ड गरिएको देखिन्छ। मेसिन उत्पादक कम्पनी क्यानन-तोसिवासँग मात्रै मिल्नेगरी लक्ड गरिएको छ।

यसको नेपाली आपूर्तिकर्ता ‘ग्लोबल मेडिटेक प्रालि’ हो। उसैले टेन्डर पाउनेगरि सिटी स्क्यानको प्राविधिक स्पेशिफिकेशन लक्ड भएको हो। यो प्याकेजको टेन्डर भएकाले सिटीको लक्ड गरेपछि जसलाई सिटीको टेन्डर पर्छ उसैले मेमोग्रामको पनि टेन्डर पाउँछ।

क्यानन–तोसिवा एउटै कम्पनीका दुई ब्रान्च भएकाले क्षेत्रपाटीले क्यानन–तोसिवाकै नेपाली सप्लायर्स धिरज थपलियासँगै खरिद गर्नेगरी सिटी र मेमोग्रामको खरिद अन्तिम चरणमा पुर्याइएको छ।

दुई वर्ष अघि मेसिन उत्पादक कम्पनी ‘तोसिवा’लाई ‘क्यानन’ले लिएको हो। क्यानन जापानी मेसिन हो। मेसिन उत्पादक कम्पनी क्यानन–तोसिवाको नेपाली सप्लायर्स धिरज हुन्। उनका विभिन्न फर्म छन्। क्षत्रपाटीको टेन्डरमा उनको फर्म ग्लोबल मेडिटेक संलग्न छ।

मेसिन उत्पादक कम्पनी क्याननको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्राली.’ भए पनि मेट्रोनिक्सले यो सिटीको टेन्डर प्रस्ताव नगरी थपलियाकै ग्लोबल मेडिटेक प्रालिबाट  टेन्डर प्रस्ताव गरेको हो।

मेट्रोनिक्स नेपाल प्रालि र ग्लोबल (इन्टरनेश्नल) मेडिटेक प्रालि दुवै थपलिया कै हुन्। थपलियाले यी दुवै आफ्ना कम्पनी भएको बताए। तर, उनले स्पेशिफिकेशन लक्ड भए-नभएकोबारे आफूलाई थाहा नभएको बताए।

यो कम्पनीले अन्य अस्पतालमा समेत स्पेशिफिकेशन लक्ड गरेर टेन्डर पाउने गरेको देखिन्छ। यही कम्पनीको नेपाली सप्लायर्सले त्रिशूली अस्पतालको सिटी स्क्यानको टेन्डर तीन करोड बढी मूल्यमा करिब आठ करोडमा पर्ने गरी टेन्डर पाइसकेको छ।

त्रिशूली अस्पतालले सिटी खरिदका लागि पनि जोइन्ट भेन्चर ‘ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि, लिड सिन्धु सर्जिकल कन्सर्न प्रालि, सब ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि’ले सिटी स्क्यान मेसिन आपूर्ति गरिदिनेगरी टेन्डर स्वीकृत गरिएको थियो।

यो टेन्डरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको थियो। टेन्डर सम्झौता भए नभएको अझैँ खुल्न सकेको छैन। सिन्धुली र भक्तपुर अस्पतालको सिटी स्क्यान मेसिनको टेन्डरमा मिलेमतो गर्न पनि यही समूह सक्रिय देखिन्छ।

कर्मकाण्डी प्री–बिड मिटिङ

क्षत्रपाटी निःशुल्क चिकित्सालयले २०८० पुस आठ गते आइतबार (डिसेम्बर २४, २०२३) मा १२८ सिटी र मेमोग्राम करिब नौ करोड ९४ लाख ४० हजारमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो। सिटी र मेमोग्राम खरिदका लागि प्रिबिड बैठक  माघ नौ गते (जनवरी १३, २०२४) लाई तोकिएको थियो।

त्यसैगरी माघ २४ गते (फेब्रुअरी ७, २०२४) सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको थियो।

सामान्यतया टेन्डर आह्वान गर्नुअघि खरिद गर्ने मेसिनको लागत अनुमान तयार गर्न मेसिन खरिदका लागि बोलपत्र (टेन्डर) पेस गर्ने सम्भावित सप्लायर्स कम्पनीहरूलाई खरिद गरिने मेसिनको स्पेशिफिकेशन पठाइन्छ।

सप्लायर्सले दिएको मेसिनको लागत अनुमानलाई आधार मानेर टेन्डर गर्ने संस्थाले मेसिन खरिदका लागि लाग्ने सम्भावित लागत अनुमान तयार गर्छ। सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दररेट मागेर लागत अनुमान तयार गरी टेन्डर प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।

टेन्डर आह्वानपछि ‘प्रि–बिड मिटिङ’को छलफलमा नै खरिद गरिने मेसिनको स्पेशिफिकेशन र बोलपत्रका सर्तमा विभिन्न सप्लायर्स कम्पनीले आ-आफ्नो तर्फबाट मेसिनको विशेषता तथा गुणस्तर लगायतका बारेमा प्रस्तुति दिने हो।

प्रि-बिड मिटिङको छलफलमा नै सप्लायर्स कम्पनीहरूले टेन्डर प्रक्रियामा रहेको खरिद गरिनुपर्ने मेसिनको कुनै प्राविधिक विषयमा चित्त नबुझेको खण्डमा संशोधनको सुझाव सहितको लिखित माग गर्न सक्छन्।

क्षत्रपाटी निःशुल्क चिकित्सालयको ‘प्रि-बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले खरिद हुने सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन लगायतका बुँदामा असहमती जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग गरेका थिए।

‘सिङ्गल बिड हो, प्रिबिड मिटिङमा जिइ, फिलिप्स, सिमेन्स, नियोसफ्ट, हिटाची र क्यानन-तोसिवाका नेपाल सप्लायर्स पुगेका थिए।

चिकित्सालयले क्यानन–तोसिवालाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको विषय सप्लायर्सहरुलाई थाहा हुने नै भयो। उनीहरूले प्राविधिक स्पेशिफिकेशनका बुँदा संशोधनको माग पनि गरे।

चिकित्सालयले माघ २२ गते (फेब्रुअरी ५, २०२४) मा सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनका केही सामान्य बुँदाहरू संशोधन गरेको देखिन्छ। तर, लक्ड गरिएको प्रमुख बुँदाहरू झन् बढी क्यानन-तोसिवाकै सिटी स्क्यान मेसिनको स्पेशिफिकेशनसँग मिल्नेगरी संशोधन गरियो।

चिकित्सालयले नै सार्वजनिक गरेको टेन्डर सम्बन्धी कागजात हेर्दा निश्चित कम्पनीको मात्रै मेसिनसँग मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर चाहेकै कम्पनीलाई टेन्डर पार्ने गरी काम भइरहेको प्रस्टै देखिन्छ। लक्ड स्पेशिफिकेशनमा माग अनुसार संशोधन नभएपछि ग्लोबल मेडिटेक प्रालिले मात्रै टेन्डर प्रस्ताव गर्यो। अन्यले प्रस्तावै गरेनन्।

टेन्डर प्रस्तावपछि प्राविधिक मूल्याङ्कन अनि आर्थिक मूल्याङ्कनको चरण हुन्छ। प्राविधिक र आर्थिक दुवै मूल्याङ्कनको चरणमा छनोट भएपछि मात्रै टेन्डर स्वीकृत गरिन्छ।

‘महानगरपालिका क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई सिटी र मेमोग्राम खरिदका लागि आठ करोड बजेट दिएको हो,’स्वास्थ्य विभागकी निमित्त विभागीय प्रमुख महर्जनले भनिन्,‘नियम पुर्याएर खरिद गर्नु अनि हामी भुक्तानी गछौं भन्ने सम्झौता गरेका छौँ।’ 

मूल्याङ्कन समितिले प्राविधिक तथा आर्थिक रूपमा मूल्याङ्कन गर्दा रितपूर्वक दर्ता हुन आएका बोलपत्रदाताहरुमध्ये मूल्याङ्कन समितिको सिफारिसको आधारमा न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भई स्वीकृतिको लागि छनोट गर्ने निर्णय भएको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित हुन्छ।

क्षत्रपाटीः निःशुल्क क्लिनिकले फागुन ११ गते सूचना प्रकाशित गर्दै फागुन १८ गते शुक्रवार तीन बजे (मार्च १, २०२४) मा सिटी स्क्यान मेसिन र मेमोग्राम मेसिनको आर्थिक प्रस्ताव खुल्ने सूचना जारी गरेको छ।

प्राविधिक प्रस्तावको चरणमा छनोट गरेर आर्थिक प्रस्तावको सूचना जारी गरेको छ। आर्थिक प्रस्तावको चरणमा पनि छनोट गरिसकेपछि बोलपत्र स्वीकृत हुन्छ र सम्झौता हुन्छ। अनि निश्चित प्रशासनिक प्रक्रिया पुर्याइ आपूर्तिकर्ताले नेपालमा मेसिन ल्याइदिएर जडान गर्छ। त्यसैले बजेटको सिलिङभित्र प्रस्ताव भएको भए क्यानन-तोसिवाकै नेपाली सप्लायर्सलाई टेन्डर पर्ने करिब निश्चित छ।

खरिद विवादकै बीच प्राविधिक स्पेशिफिकेशन नै क्यानन–तोसिवासँग मात्रै मिल्नेगरी लक्ड गरेर खरिद प्रक्रिया अगाडि बढाएको अस्पतालले प्राविधिक र आर्थिक दुवै चरणमा क्यानन–तोसिवाकै मेसिन खरिद गर्ने गरी यो फर्मलाई टेन्डर दिएको प्रस्टै हुन्छ।

ढकालले स्पेशिफिकेशन बदलेको आरोप

क्षत्रपाटी निःशुल्क चिकित्सालयका एक जना कर्मचारीले मेयर बालेन शाहको समूहमा रहेका एक जना (सुदीप ढकाल) सँग समन्वय गरेर सिटी र मेमोग्रामको स्पेशिफिकेशन संशोधन गरेर खरिद प्रक्रिया अगाडि बढाएको दाबी गरे। ती कर्मचारीले सुदिप नाम गरेका व्यक्तिसँग सिटी खरिदका विषयमा समन्वय भएको बताए।

‘(मेयरको)स्वकीय सचिवज्यू हैन। सुदिप सर हो,’ती कर्मचारीले भने,‘सल्लाहकार हुनुहुन्थ्यो जस्तो लाग्यो उहाँ (सुदिप ढकाल) ठ्याक्कै थाहा भएन।’

उकेराको खोजमा क्षत्रपाटी निःशुल्क चिकित्सालयको सिटी स्क्यान मेसिन र मेमोग्रामको खरिदमा मेयर शाहको टिमका सुदिप ढकालले विशेष चासो लिएर स्पेशिफिकेशन परिवर्तनका लागि सुझाव दिएको खुल्यो।

ढकालले उकेरासँग आफू महानगरमा मेयर बालेनको टिममा रहे पनि औपचारिक रूपमा काम नगरेको दाबी गरे।

‘म काठमाडौँ महानगरपालिकामा आबद्ध त छु,’ढकालले भने,‘तर, अफिसियल्ली आबद्ध छैन।’

तपाईँ मेयरसापकै टिममा हुनुहुन्छ हैन?भन्ने अर्को जिज्ञासामा ढकालले भने,‘मेयर सापको टिममा भन्दा पनि मचाहिँ केही कुराहरूमा उहाँ (मेयर बालेन)लाई सहयोग गर्ने कामचाहिँ गरिरहेको छु।’

तर, आफू सल्लाहकारका रूपमा नभएको उनले तर्क गरे।

त्यसो भए तपाईँ मेयर सापको सल्लाहकारका रूपमा हुनुहुन्छ? भन्ने जिज्ञासामा ढकालले भने,‘म सल्लाहकार पनि हैन। म महानगरसँग अफिसियल्ली कुनै कुरामा पनि आबद्ध छैन।’

उनले क्षत्रपाटीको टेन्डर आह्वान भएपछि खरिद प्रक्रियामा रहेका सिटी र मेमोग्रामको विषयमा बायोमेडिकल इन्जिनियरसँग समन्वय गरेर मेयर शाहलाई जानकारी गराएको दाबी गरे।

‘विविध कुराहरू आयो। अनि के रहेछ भनेर मलाई हेरिदिनु भन्नु भएको थियो,’ढकालले भने,‘त्यसपछि बायोमेडिकल इन्जिनियरसँग समन्वय गरेर मेयर सापलाई जानकारी गराएको मात्रै हो।’

स्पेसिफिकेशनको विषयमा प्रश्न उठेपछि आफूले पनि जिज्ञासा राखेर महानगरकै स्वास्थ्य विभाग र क्षत्रपाटी निःशुल्क चिकित्सालयमा बुझेको उनले तर्क गरे।

‘उहाँहरूसँग के हो यो कुरा भनेर बुझेको मात्रै हो,’ढकालले भने,‘उहाँहरूलाई यो चेन्ज गर्नुहोस् भनेर मैले भनेको थिए। मिनिमम तीन वटा कम्पनीसँग म्याच हुनुपर्यो त्यो स्पेक, यो कुराचाहिँ मैले स्पष्ट उहाँहरूलाई पनि भनेको थिएँ, अनअफिसियल्ली।’

त्यसपछि के–के कसरी स्पेशिफिकेशन संशोधन भयो भन्ने विषय आफूलाई थाहा नभएको उनको दाबी छ।

उनले उकेरासँग पटक–पटक कम्तीमा पनि तीन वटा कम्पनीको उत्पादनसँग स्पेशिफिकेशन मिल्नुपर्ने तर्क गरिरहे। तर एउटा कम्पनीसँग मात्रै मिलेको छ स्पेशिफिकेशन।

‘मेरो संलग्नता यसमा हुने कुरै भएन,’उनले भने,‘...त्यसपछि प्रिबिड मिटिङको बेलामाचाहिँ भेण्डरहरु आउनु भएको थियो। उहाँहरूले मलाई पनि एकपटकचाहिँ भेट्नु भएको छ।...हाम्रो काम भनेको सुझाव दिने मात्रै हो।’

काठमाडौँ महानगर महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले क्षत्रपाटी निःशुल्क चिकित्सालयमा सिटी र मेमोग्राममा भइरहेको खरिदबारे जिज्ञासा राख्दा खरिदका विषयमा अनभिज्ञता जनाए।

क्षत्रपाटीमा भइरहेको सिटी र मेमोग्रामको खरिद प्रक्रियामा भइरहेको अनियमितताबारे महानगरको स्वास्थ्य विभागकी निमित्त विभागीय प्रमुख सजिना महर्जनसँग जानकारी लिँदा उनले खरिदमा मिलेमतो भएको भन्ने विषयमा जानकारी नभएको र चिकित्सालयलाई सिटी स्क्यान मेसिन र मेमोग्राम खरिदका लागि तोकेर नै आठ करोड छुट्टाएको जानकारी दिइन्।

‘महानगरपालिका क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई सिटी र मेमोग्राम खरिदका लागि आठ करोड बजेट दिएको हो,’स्वास्थ्य विभागकी निमित्त विभागीय प्रमुख महर्जनले भनिन्,‘नियम पुर्याएर खरिद गर्नु अनि हामी भुक्तानी गछौं भन्ने सम्झौता गरेका छौँ।’ 

१७ फागुन, २०८०, २३:५४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।