कांग्रेसको गतिविधिसँग हैरान छन् प्रधानमन्त्री प्रचण्ड

कांग्रेसको गतिविधिसँग हैरान छन् प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको गतिविधिप्रति सन्तुष्ट छैनन्। कांग्रेसका पछिल्ला एकपछि अर्को गतिविधिबाट हैरान भएको प्रधानमन्त्री प्रचण्डले आज आफैंले स्विकार गरेका छन्।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोशी प्रदेशमा कांग्रेसकै कारण माओवादी उमेदवार पराजित भएको आक्रोश पोखे।

कांग्रेसको महासमिति बैठकको निर्णयलाई लिएर पनि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड असन्तुष्ट देखिएका छन्।

‘कोशीमा जसरी माओवादी केन्द्रका उम्मेदवार पराजित हुने स्थिति कांग्रेसकै कारणले भयो। कोशी प्रदेशका हाम्रा पार्टीका सबै नेता-कार्यकर्ता, समर्थकहरू पनि असाध्यै बढी आक्रोशित स्थितिमा हुनुहुन्छ’, उनले भने ‘भर्खर कांग्रेसको महासमिति बैठकले पनि आवश्यक नभएको निर्णय गरेको छ।’

उनले कांग्रेसको अविश्वासिलो व्यवहारका कारण राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार समेत माओवादी केन्द्रकै रहने संकेत गरेका छन्। यसबारेमा पार्टीको केन्द्रीय समितिको अत्यधिक बहुमतले राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने धारणा राखेको तर लिखित निर्णय नभएको उनको भनाई छ।

गठबन्धन राम्रै चलिरहँदा पनि आगामी चुनावमा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गर्नुले आफू सोच्न बाध्य भएको उनले बताए।

‘गठबन्धन राम्रै लैजाने भन्ने थियो। हामी अझै त्यसमा प्रतिबद्ध पनि थियौँ’, उनले भने ‘जसको समर्थनबाट पहिलो पार्टी बन्यो। त्यही पाटीसँग गठबन्धन गर्दैनौँ रुख बाहेक भनेर अहिले बोल्न पर्ने जरुरी के थियो? यसले पनि देशभरि एउटा तरङ्ग पक्कै पनि गरेको छ।’

नेपाली कांग्रेस भित्र भएको धर्म निरपेक्षताको विषय प्रति पनि उनले असन्तुष्ट पोखेका छन्। शान्ति प्रक्रियाको हस्ताक्षर पार्टीले नै जनयुद्धको विषयमा अनावश्यक कुरा बोलेको उनले बताए।

फागुन १७, २०८० बिहीबार २१:५५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।