जेनेस सोलुसनले सुन्दर समूहको डेट मेटेको अभियोगमा मुद्दा, सिइओ अञ्जनी अझैँ फरार

जेनेस सोलुसनले सुन्दर समूहको डेट मेटेको अभियोगमा मुद्दा, सिइओ अञ्जनी अझैँ फरार

काठमाडौँ : आइटी सम्बन्धी सेवा दिने भनेर खुलेको जेनेस सोलुसनले कम्पनीबाट सूचना प्रविधीसम्बन्धी सेवा लिने एक कम्पनीको सबै डेटाहरु अनधिकृत रुपमा मेटाएको खुलेको छ।

जेनेसका सिइओ अञ्जनी फुयाँलसहितले सुन्दर ग्रुप अफ कम्पनिजका वेभ होस्ट गरेकोमा अनधिकृत रूपमा वेभ होस्टमा प्रवेश गरेर कम्पनी र कम्पनीका ग्राहकको सबै डेटाहरु नष्ट गरेको खुलेको हो। सोलुसनका सिइओ फुँयालसहितमाथि विद्धुतिय कारोबार ऐन अनुसार काठमाडौँ जिल्ला अदालतमा मुद्धा समेत दायर भइसकेको छ। तर फुँयाल फेला परेका छैनन्।

 

कानुनी रूपमा फरार रहेका उनी पछिल्लो समय नाइजेरियामा सक्रिय रहेको देखिन्छ। बेलायतमा बस्दै आएका उनले कम्पनीको मुख्य कार्यालय बेलायतमा रहेको दाबी गर्ने गरेका छन्।

जेनेसको कार्यालय नेपालमा समेत छ। उकेराले प्राप्त गरेको प्रमाणमा उनी नेपाली र बेलायती दुवैतिरको नागरिक रहेको देखिन्छ। बेलायती नागरिक बनेपछि पनि उनले नेपाली नागरिकता त्यागेका छैनन्।

उकेराले प्राप्त गरेको विवरण अनुसार एक्सपोर्टको काम गर्दै आएको सुन्दरले प्रालीले आफ्नो र ग्राहकहरूको वेभ जेनेसबाट होस्ट गराएका थिए। एकाएक कम्पनीको सबै डेटाहरू मेटाइयो।

सुन्दर ग्रुपले मेटाइएको आफ्ना डेटाहरू माग्दा नदिएको भन्दै सो डेटा मेटाउँदा कम्पनीलाई ठुलो आर्थिक क्षति भएको र सो डेटाहरूको दुरुपयोग हुनसक्ने भन्दै कम्पनीका प्रबन्ध निर्देशक कविराज कँडेलले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको थियो।

ब्युरोले गरेको अनुसन्धानमा  अमेजन वेभ सर्भिसबाट प्राप्त विवरण लगायतको अध्ययनबाट जेनेस सोलुसनको आइडीबाट अनधिकृत रूपमा प्रवेश गरेर डेटा डिलिट गरेको भन्दै अञ्जनीसँगै अनिता फुयाँल, रमा फुयाँल र नेपालस्थित कार्यालयका सिइओ प्रसन्न पोखरेललाई प्रतिवादी बनाएको थियो।

सुन्दर ग्रुप अफ कम्पनीजले कम्प्युटर तथा लेखा सम्बन्धी मेसिनहरूको कारोबार गर्ने, विभिन्न वस्तुहरूको आयात-निर्यात लगायतका काम गर्दै आएको थियो।उनीहरूले प्रोजेक्ट र डेटाहरू निर्माण गरेर जेनेसमार्फत होस्टिङ गरेका थिए। उनीहरूले कुनै सूचना नै नदिई सामाग्रीहरू नष्ट गरेको कम्पनीले दाबी गरेको थियो।

प्रसन्न पोखरेल पक्राउ परे। उनले जेनेस कम्पनी वैदेशिक लगानीको रूपमा दर्ता भएको कम्पनी रहेको र यसको ग्लोबल सिइओ अञ्जनीकुमार फुयाँल रहेको खुलाएका थिए।

उनले सुन्दर ग्रुपको सबै डेटाहरू नष्ट गरेकोबारे आफूलाई कुनै जानकारी नभएको र जानकारी पाए लगत्तै अञ्जनी लगायतको प्राविधिक टिमलाई जानकारी गराएको बयानमा खुलाएका थिए।

अभियोग पत्रको आधारमा मुद्दा अगाडि बढ्यो। तर न अञ्जनी पक्राउ परेका छन् न त सुन्दर कम्पनिजले नै आफ्नो डेटाहरू फिर्ता पाएको छ।

१५ फागुन, २०८०, १९:४१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।