टेरामक्स भ्रष्टाचार अनुसन्धान अन्तिम चरणमा, ७० करोड टेप अनुसन्धानमै

टेरामक्स भ्रष्टाचार अनुसन्धान अन्तिम चरणमा, ७० करोड टेप अनुसन्धानमै

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान स्वास्थ्यमन्त्री मोहन बस्नेत लगायतकाहरु जोडिएको टेरामक्स खरिदमा भएको अनियमितताको अनुसन्धान अन्तिम चरणमा रहेको बताएका छन्।

मङ्गलवार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा राईले बयान लगायतका सबै काम सक्काएर अहिले अनुसन्धान र विश्लेषणमा केन्द्रित रहेको जानकारी दिएका हुन्। उनले अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँदै उनले केही समयभित्र नतिजा आउने बताए।

टेरामक्स खरिदमा मन्त्री बस्नेत, कांग्रेस सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन सञ्चार सचिव वैकुण्ठ अर्याल लगायतकाहरुमाथि अख्तियारले बयान लिएको थियो। मन्त्री बस्नेत अख्तियारको अनुसन्धानको दायरामा रहेको भन्दै एमाले सांसदहरुले निरन्तर उनको राजिनामा मागिरहेका छन्।

७० करोड टेप पनि अनुसन्धानमा

बैठकमा उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको क्रममा बाहिरिएको ७० करोड कमिसनबारे कुराकानी भएको अडियोबारे पनि अनुसन्धान जारी रहेको जानकारी दिएका थिए।

सेक्युरिटी प्रेस खरिदको क्रममा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा र प्रेस खरिदमा संलग्न विचौलियाबीच ७० करोड कमिसनको कुराकानी भएको अडियो सार्वजनिक भएको थियो।

उनले यसबारे अनुसन्धान भइरहेको र प्रमाण नभएसम्म कसैलाई दोषी देखाएर मुद्दा लैजान नहुने बताएका थिए।

प्रमुख राई आफैँ पूर्व गृह सचिवहुँदा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा जोडिएका थिए। उनीबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छैन।

१५ फागुन, २०८०, १७:००:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।