सहकारीको अनुसन्धान गर्दा भेटियो बैंकको बदमासी, प्रभुको सिनियर डिसिइओ न्यौपाने पक्राउ

सहकारीको अनुसन्धान गर्दा भेटियो बैंकको बदमासी, प्रभुको सिनियर डिसिइओ न्यौपाने पक्राउ

काठमाडौँ : देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंको बदमासीबारे अनुसन्धान गर्दा बैंकको बदमासी खुलेको छ। तत्कालीन सेन्चुरी कमर्सियल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले रविन्द्रलाई कमसल धितोमा कर्जा दिएको खुलेपछि उनी पक्राउ परेका छन्।

सेन्चुरी प्रभु बैंकसँग मर्ज भएपछि उनी अहिले प्रभुको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा छन्।

देउराली सहकारीको बदमासीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मङ्गलवार न्यौपानेसहित तत्कालीन सेन्चुरी बैङ्कका १० जना कर्मचारीलाई पक्राउ गरेको छ।

सीआईबीको अनुसन्धानमा बैंकर न्यौपानेले देउराली सहकारीका सञ्चालकले बचतकर्ताको रकम दुरुपयोग गर्दै खोलेका विभिन्न कम्पनीलाई कमसल धितोमा ऋण प्रवाह गरेको खुलेको हो। सिआइबीस्रोतका उनले ५० करोडको धितोको भरमा दुई अर्ब २५ करोड रुपैयाँ ऋण दिएको खुलेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।

सहकारीको बचतकर्ताको पाँच अर्ब बढी रकम अपचलन गरेको आरोपमा सिआइबीले देउराली सहकारीका सञ्चालक चौलागाईंलाई असोज १८ गते पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

अनुसन्धानमा उनले बचतकर्ताको रकम दुरुपयोग गर्दै रवीन्द्रले श्री पूजा पोल्ट्री फार्म, देउराली प्रोपर्टिज प्राली, मून भेन्चर इन्भेस्टमेन्ट प्राली, पूजा मार्केटिङ प्राली, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी लगायतका कम्पनीहरू खोलेको खुलेको छ। उनले कम्पनीहरूमा सहकारीको बचतकर्ताको रकम लगानी गर्दै आएका थिए। बचतकर्ताले रकम फिर्ता नपाएपछि उजुरी दिएपछि देउराली सहकारीबारे अनुसन्धान सुरु भएको हो।

१५ फागुन, २०८०, १६:४४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।