खेलकुद विकास समिति गठनलाई लिएर देवदह नगरपालिका तनावग्रस्त, प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको प्रयास

खेलकुद विकास समिति गठनलाई लिएर देवदह नगरपालिका तनावग्रस्त, प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको प्रयास

बुटवल : रूपन्देहीको देवदहमा नेपाली कांग्रेसका जनप्रतिनिधिले अराजक शैलीमा नगरप्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

सोमबार बिहान हुलदंगा गर्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत सापकोटाको कार्यकक्षमा प्रवेश गरी उनलाई हातपातको प्रयास गर्दै नेमप्लेट, टेबुल र सिसा फुटाएका हुन्।

सापकोटा कार्यकक्षमा बसेर काम गरिरहेका बेला जबरजस्ती बाहिर निकाल्न खोजेपछि नेपाल प्रहरी र नगर प्रहरी सापकोटालाई पहरा दिएका थिए। उनीहरूले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास समेत गरेको प्रहरीले जनाएको छ।

मेयर खरेल र सापकोटा विरूद्व नाराबाजी गर्दै दुवै जनाको कार्यक्षमा तालबन्दी गरेपछि अवस्था तनावग्रस्त समेत बन्न पुगेको थियो। आफ्नो काम लिएर कार्यालय पुगेका सेवाग्राहीले समेत जनप्रतिनिधिको क्रियाकलापलाई गैरजिम्मेवार, अलोकतान्त्रिक र अराजक चरित्र भनेका छन्।

बहुमत र एकपक्षी ढंगबाट मेयर र प्रमुख प्रशासकीय अधिकृत अघि बढेको आरोप लगाउँदै उनीहरू अराजक शैलीमा तालाबन्दी गरेका हुन्। मेयर आफ्नो क्षेत्राधिकार र नीतिगत निर्णय गरी नगर खेलकुद विकास समितिमा कमल पाण्डेलाई नियुक्त गरेपछि कांग्रेसले एमाले बाहेक अन्य पार्टीले खेलकुद समितिको नेतृत्व दिनुपर्ने भन्दै विवाद झिकेका थिए।

वडा नम्बर-४ का वडा अध्यक्ष दमननाथ रेग्मीले मेयर र प्रमुख प्रशासकीय अधिकृतको शैली पक्षपात पूर्ण भएपछि बाध्य भएर ताबन्दी गर्नुपरेको दावी गरे।

‘वडाअध्यक्ष र केही जनप्रतिनिधिको असहमति हुँदा-हुँदै प्रमुख प्रशासकीय अधिकृतले सबैलाई मिलाएर लैजानुपर्ने ठाउँमा नगर प्रमुख र उपप्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्यहरूबीच द्वन्द्व बढाए,’ रेग्मीले भने, ‘कोरम नपुग्दा-नपुग्दै घर-घरमा गएर हस्ताक्षर गराएर नगरसभा सञ्चालन गरिएपछि हामी बाध्य भएर आन्दोलित हुनुपर्यो।’

देवदहमा एमालेबाट निर्वाचित मेयर र उपमेयर छन्। सात जना वडाध्यक्षसहित २२ जना जनप्रतिनिधि आन्दोलित हुँदा अनि मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी हुँदा नगरको कामकाज प्रभावित भएको छ।

मेयर खरेलले जनप्रतिनिधिले यस्तो अराजकता सैह्य नहुने भन्दै आफूहरूले अधिकार क्षेत्रबाहिर गएर काम नगरेको दाबी गरे।

‘मुढेबलले हुने भए मेयर र हाकिम किन चाहियो? हामी अधिकार क्षेत्रबाहिर गएर काम गरेको भए सजाए भोग्न तयार छौं। तर यस्तो अराजकता सैह्य हुँदैन,’ उनले भने, ‘नगरप्रमुखको क्षेत्राधिकारको काम पनि गर्न नदिने वातावरण भएपछि बाध्य भएर खेलकूद विकास समिति गठन गरिएको हो। भइसकेको निर्णय अब तलमाथि हुँदैन।’

आन्दोलित जनप्रतिनिधिले नदीजन्य पद्धार्थ चोरी तस्करीमा संलग्नलाई कारबाही गर्नुको साटो मिलेमतोमा छाडिएको, शिक्षक कर्मचारी नियुक्ति पारदर्शी नभएको, कार्यपालिकाको निर्णयविना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शिर्षकमा रकम बाडेको आरोप लगाएका छन्।

सोमबार नै देवदह नगरपालिकाले एक विज्ञप्ति निकालेर कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र जनप्रतिनिधिले पदीय मर्यादा विपरीत आपराधिक घटनाको भत्सर्ना गरेको छ।

१५ फागुन, २०८०, ०८:००:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।