निर्माणको ३८ वर्षपछि सुनथरालीको चिहानमाथि चिलगाडी !

निर्माणको ३८ वर्षपछि सुनथरालीको चिहानमाथि चिलगाडी !

कालिकोट : नरहरिनाथ गाउँपालिका-१ कोटवाडा स्थित सुनथराली विमानस्थलमा सात वर्षपछि जहाज पुग्यो।

आइतबार नेपाल एअरलान्यसको जहाज परीक्षण उडान गरेर सोमबार विमानस्थलको औपचारिक रूपमा उद्घाटन गरियो। २०४२ सालमा जिल्ला विकास समितिले एक लाख रुपैयाँबाट विमानस्थल निर्माणको काम सुरु गरेपनि ३८ वर्षमा बल्ल त्यसले पूर्णता पायो।

२०७३ माघ २९ गते तत्कालीन पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनबहादुर शाहीको अगुवाइमा परीक्षण उडान भयो। तर, त्यसयता जहाज सुनथरालीमा आएन। सात वर्षअघि जस्तै अहिले पनि जहाज पुग्दा नरहरिनाथ-१ कोटबाडाका ८० वर्षीय लालबहादुर विष्ट खुसी छन्। तर उनलाई नियमित जहाज आउनेमा शंकै छ।

‘यो एअरपोर्ट बनाउन लागेको त ३८ वर्ष भयो। बल्ल यो वर्ष काम पूरा भयो। सात वर्षअघि पनि यहाँ चिलगाडी आएको थियो। फेरि अहिले आएको छ,’ विष्टले भने, ‘चिलगाडी सधैँ आएपछि त हामीलाई सजिलो हुन्थ्यो। नभए उही गाडीमा दुःख काट्नु छ।’

विमानस्थल बनाउँदा ३६ जना मजदूरले ज्यान गुमाएका प्रत्यक्षदर्शी विष्ट हुन्। त्यहि सुनथरालीमा २०५८ सालमा नेपाली सेनाले ३६ जनाको हत्या गरेर चिहान बनाएको थियो।

‘विमानस्थल बनेर चिलगाडी चलेपछि हामी मात्रै होइन, यहाँभित्र गाडिएका ३६ जनाको आत्माले नै शान्ति पाउने छ,’ लालबहादुरले भने, ‘पहिलाको जस्तै देखाउन नभएर सदैव चिलगाडी ल्याए हामीलाई सुख हुन्थ्यो। चिहानमूनिकाहरूको आत्मशान्तिको लागि भएपनि चिलगाडी नियमित हुनपर्छ।’

त्यस्तै अर्का ५० वर्षीय पदमबहादुर विष्टले ३८ वर्षसम्म विमानस्थलकै कारण थुप्रै दुःख भोगे।

‘यो दुर्गमको विमानस्थल हो त्यसैले सबैको चासो हुनुपर्छ। यहाँबाट प्रदेश राजधानी जान पनि दुई हजार रुपैयाँ भाडा तिरेर बस चढ्नपर्छ। त्यो पनि सडककै कारण कहाँनिर के हुन्छ थाहा छैन,’ पदमबहादुरले भने, ‘अब नियमित उडानले निरन्तरता पाओस्।’

सोही ठाउँका ५६ वर्षीय जयरुप उपाध्यायले पहिलाजस्तै जहाज नफर्कंदा निरास हुन नदिन सरोकारवालाई अनुरोध गरे।

‘यो विमानस्थल बनाउँदा ३६ जनाले ज्यान गुमाएका छन्। त्यसैले यो विमानस्थलको दिगोपनाका लागि सोच्न जरुरी छ,’ उनले भने, ‘सुनथराली विमानस्थलबाट जहाज चड्ने सपना सधैँभरी पुरा भइरहोस्।’

विमानस्थलको धावनमार्ग, रिपिटर टावर, घेरबार र भवनमा करिब ४५ करोड रुपैयाँ खर्च भएको छ।

विमानस्थलमा नियमित उडान भएपछि यहाँबाट पर्यटकीय स्थलका भ्रमण गर्न सकिने सथनहरु रामारोशन, बाजुरा र त्रिवेणी पाटन, बडिमालिका रहेका छन्। एक महिनासम्म उडानमा चाहिने यात्रु कम भए पालिकाले उक्त रकम परिपूर्ति गर्ने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए।

निरन्तरताको प्रतिवद्धता
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले यहाँको हवाई उडनामा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

‘यहाँ अब निरन्तर हवाई सेवा दिने विषयमा सरकारले विशेष ध्यान दिएको छ,’ उनले भने, ‘पहिला जस्तो हुँदैन। अब कालिकोटका नागरिकलाई सिधै प्रदेश र केन्द्र राजधानीसँग यहाँका नागरिकको पहुँच बढेको छ। त्यसले निरन्तरता पाउँछ।’

उनले चुनावका बेला प्रधानमन्त्री र आफू सम्बोधन गर्न कर्णाली आएका बेला बोलेका वाचा पूरा गर्नेतर्फ अगाडि बढेको बताए। उनले हप्तामा एकपटक जहाज कालिकोट पुग्नेगरी केन्द्र सरकारसँग समन्वय गर्ने बताए। यहाँको नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्नुपर्नेमा उनको जोड छ।

पर्यटन मन्त्री सुदन किराँतीले धेरै संघर्ष र बलिदानबाट पूर्णता पाएको यो विमानस्थल निरन्तरता दिन आफूले कुनै कसर बाँकी नराख्ने बताए। उनले प्रधानमन्त्री प्रचण्डले नै नियमित उडान गर्ने प्रतिवद्धता जनाएको बताए।

देशका २२ वटा विमानस्थलहरू उडानविहिन भएको बताउँदै सरकारसँग जहाज कम भएकोले खरिदका लागि प्रक्रिया अगाडि बढाइएको समेत उनले बताए।

‘जहाज निरन्तरता गर्न मैले क्याबिनेटमा बारम्बार कुरा राखेको छु। सोही अनुसार जहाजको परिपूर्ति हुनेछ,’ उनले भने, ‘कालिकोट विविध संस्कृतिको जननी हो।’

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले यहाँको उडान नियमितका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले कर्णालीको आन्तरिक उडानका लागि १० वटै जिल्लाका एअरपोर्टको विकास र निरन्तरताका लागि केन्द्र सरकारसँग पनि अनुरोध गरिहरेको बताए।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीले विमानस्थलको विकासका लागि आफू सदैव तयार रहेको बताए। उनले प्रत्येक हप्ता यहाँको उडानमा केन्द्र सरकारले ध्यान दिनुपर्ने बताए।

कालिकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटवासीको जहाज चढ्ने चाहानालाई निरन्तरता दिन अनुरोध गरे।

नेपाल नागरिक उड्यन प्राधिकरणका डिजी प्रदीप पौडेलले कालिकोट विमानस्थलमा जहाज निरन्तरताका लागि प्राधिकरण तयार रहेको बताए। विमानस्थल उद्घाटनमा कर्णाली प्रदेश सभाकी सभामुख यसोदा न्यौपाने, सांसद हिक्मत विष्ट लगायत उपस्थित भएका थिए।

१५ फागुन, २०८०, ०७:३३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।