देवदहमा कांग्रेस-राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप

देवदहमा कांग्रेस-राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप

बुटवल : रुपन्देहीको देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस- राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ।

कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहित नगरपालिका पुगेका कार्यकर्ताहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि थप तनाव बढेको छ।

अहिलेपनि पालिकामा घम्साघम्सी जारी नै छ। प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन खोजिरहेका छन् भने सुरक्षाकर्मीले छेक्ने प्रयास गरिरहेका छन्।

नगरपालिका पुगेका कार्यकर्ताहरूले कार्यपालिका बैठकमा बहुमतको दम्भ देखाएर नोट अफ डिसेन्ट दर्ज नगरिएको बताएका छन्।

पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरूमाथि सहमति नजुटेपछि  १२ मध्ये सात वडाका वडाध्यक्षहरू र एक जना कार्यपालिका सदस्य सहित ५ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए। तर बहुमतको दम्भ देखाएर असहमति दर्ज नगरिएको उनीहरूको भनाइ छ।

देवदहमा पौष १७ यता कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरूले एक पक्षीय निर्णयमा सहभागी नहुने र नगरप्रमुख ध्रुव खरेल, उपप्रमुख बिद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा सहभागी हुने नगरपालिकाका कार्यक्रमहरु बहिष्कार तथा कार्यपालिका बैठक बहिष्कार गर्ने दबावमूलक अभियानमा गरिरहेको पनि जनाएका छन्।

तालाबन्दी गर्न पुगेका जनप्रतिनिधिहरूले जारी गरेको विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भक्तानी समेत गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा नगर प्रमख कोषदेखि आफ्नो कुलदेवताको मन्दिरमा समेत रकम विनियोजन गरी वडा नम्बर ९ को कार्यालयको सिफारिसविना रकम निकाशा गरिएको उल्लेख छ।

यस्तै वडा नम्बर ८ मा नदीजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्र्याक्टर, जेसीभी नियन्त्रणमा लिएर केही व्यक्तिलाई पक्राउ गरेर कारबाहीका लागि देवदह नगरपालिकामा पठाएकोमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेमतोमा विना राजश्व छाडिएको आरोप लगाइएको छ।

तालाबन्दी गर्न नगरपालिका पुग्ने जनप्रतिनिधिहरूमा एक बहादुर सुनार, वडा नं १०, पज प्रसाद अर्याल बडा अध्यक्ष वडा नं. ३, मोहन बहादुर जि.सि. वडा अध्यक्ष वडा नं. ९, हेग बहादुर सारु, वडा अध्यक्ष वडा नं. १२, दिपक नेपाल बडा अध्यक्ष वडा नं, ६, दमननाथ रेग्मी वडा अध्यक्ष वडा नं. ४, दूध नाथ यादव बडा अध्यक्ष वडा नं. ११ रहेका छन्।

त्यसैगरी बोम बहादुर परियार, कार्यपालिका सदस्य, अमर लामिछाने नगर सभा सदस्य, बम कुमारी थापा, नगर सभा सदस्य, अम्रिका प्रसाद चौधरी, नगर सभा सदस्य र मेघनाथ न्यौपाने, नगर सभा सदस्य पनि ताला लगाउन पालिका पुगेका छन्।

नगरसभा सदस्य दुल प्रसाद चौधरी, रेनुका आले मगर, बाल मोहन यादव, आविद अलि, असरुन निसा, लक्ष्मी देवी वि.क., मंगल चौधरी, कृष्ण माया राना, बमकान्त गौडेल र होस राज न्यौपाने पनि ताला लगाउन नगरपालिका पुगेका छन्।

१४ फागुन, २०८०, १३:५०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।