शालीनदी मेला : एक महिनामा २२ लाख भक्तजन, झन्डै एक करोड आर्थिक संकलन

शालीनदी मेला : एक महिनामा २२ लाख भक्तजन, झन्डै एक करोड आर्थिक संकलन

काठमाडौं : साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरू भएको स्वस्थानी मेलामा झन्डै एक करोड बढीको सहयोग रकम संकलन भएको छ।

स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठका अनुसार पसल तथा अन्य भक्तजनहरूबाट आएको सहयोगबाट करिब एक करोड सहयोग संकलन भएको हो।

शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यसवर्ष आज साँझ विशेष समारोहबीच समापन तयारी रहेको मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए। उनका अनुसार यो वर्ष महिला, पुरुष र अन्य गरेर २०९ जना व्रत बसेका थिए।

एक महिनाको अवधिभर नुन समेत नखाएर व्रत बस्ने प्रचलन रहेको पनि प्रचार विभाग प्रमुख श्रेष्ठले बताए। मेलामा आउने दर्शनार्थीहरू पनि नियमित रुपमा आएकाले एक महिनाको अवधिभर कुनै भीडभाड र असहज परिस्थिति सिर्जना नभएको उनले बताए।

माधवनारायण र स्वस्थानीको पूजास्थल शालीनदी क्षेत्रमा एक महिना मेला लाग्ने गर्छ। माधवनारायण व्रत र शालीनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा वर्षेनी दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ। उनका अनुसार यो वर्षको मेलामा २२ लाख धार्मिक पर्यटकहरूले मेलाको अवलोकन गरेका छन्।

यद्यपि, अघिल्ला वर्षहरूको तुलनामा आर्थिक सहयोग संकलन र मेला अवलोकन गर्न आउने दर्शनार्थीहरूको सङ्ख्यामा त्यति धेरै फरक भने नरहेको उनको भनाई छ।

१२ फागुन, २०८०, १७:३३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।