विद्यालय नजिकै तत्काल ‘कर्णाली एक्सपो’  नचलाउन अदालतको आदेश

विद्यालय नजिकै तत्काल ‘कर्णाली एक्सपो’  नचलाउन अदालतको आदेश

सुर्खेत :  विद्यालय नजिकै महोत्सव नचलाउन उच्च अदालत सुर्खेतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । शुक्रवार उच्च अदालत सुर्खेतका न्यायाधीश माधव धितालको इजलासले फागुन १४ देखि सुरु हुन लागेको तेस्रो ‘कर्णाली एक्सपो २०८०’ नचलाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।

महोत्सव सञ्चालन हुने मैदानको आडैमा रहेको बाल मन्दिर विद्यालयको पठनपाठनमा अवरुद्ध हुने भन्दै बिहीबार अधिवक्ता प्रकाशबाबु ऐडीले उच्च  अदालत सुर्खेतमा रिट दायर गरेका थिए। उनले वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति र उद्योग वाणिज्य सङ्घ सुर्खेतलाई विपक्षी बनाएका थिए।

अदालतले फागुन १४ गते दुवै पक्षलाई पेसी तारेख तोक्दै छलफलमा बोलाएको छ। निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी हुनु पर्ने होइन? आदेश जारी हुन नपर्ने कुनै कारण, आधार र प्रमाणसहित १५ दिनभित्र जवाफ पेस गर्न आदेशमा भनिएको छ।

शुक्रवार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता भूषण कुमार मानन्धर, अधिवक्ता गीता कुमारी कोइराला, दुर्गाप्रसाद सापकोटा र रिट निवेदक अधिवक्ता प्रकाशबाबु ऐडीले बहस गरेका थिए।

रिटमा मेला सञ्चालनका लागि वीरेन्द्रनगरकै खुला मञ्च, जिल्ला प्रशासन कार्यालयको दक्षिण तर्फको खुल्ला मैदान, कालिन्चोकमा रहेको खेल मैदान, बुलबुले उद्यान लगायतका स्थानहरूको विकल्प समेत दिइएको छ। बाल मन्दिर विद्यालयमा कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने १ सय १० जना बालबालिका रहेका छन्।

११ फागुन, २०८०, १९:१३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।