चार मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेको तीन दिने ‘म्याद’

चार मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेको तीन दिने ‘म्याद’

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमालेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित चार मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनको म्याद दिएको छ।

सत्तापक्षका सांसदले विपक्षी सांसदका कारण संसद् बैठक नचलेको दाबी गरेको विरोधमा अवरुद्ध भएको प्रतिनिधि सभाको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी एमालेका सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरूले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका थिए।

उनले अब बस्ने बैठकमा उपस्थित भएर प्रतिपक्ष बेन्चबाट उठाएको सवाल सम्बोधन गर्न माग गर्दै बैठकमा चार मन्त्री बर्खास्त गरेको सन्देश बोकेर आउन भनेका थिए।

अवरुद्ध हुनु अगाडि संसद्मा बोल्दै एमाले सांसद योगेश भट्टराईले टेरामक्स भ्रष्टाचारमा जोडिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनि पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा मागेका थिए।

बस्नेत नेपाली कांग्रेसको संस्थापक समूहबाट मन्त्री बनेका हुन्। उनी सञ्चारमन्त्री भएको बेलामा टेरामक्स खरिद प्रक्रिया अगाडि बढेको थियो। अख्तियार अहिले यसबारे छानबिनमा छ। प्रकाश ज्वाला एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन्। नारायणकाजी र किराँती माओवादी केन्द्रबाट मन्त्री बनेका हुन्।

तीन अर्ब हाराहारीको स्वास्थ्य उपकरण खरिद मिलेमतोमा गरेकोमा विवादमा तानिँदै आएका मन्त्री बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचारको अनुसन्धानकोक्रममा बयान लिएको थियो।

दुई युवाको ज्यान जाने गरी बालकुमारीमा भएको घटनाको छानबिन प्रतिवेदनले नै मन्त्री प्रकाश ज्वालासहितको लापरबाहीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन  सरकारलाई बुझाइसकेको छ। उता गौतम बुद्धको अस्तु धातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ वर्षसम्मलाई भाडामा दिने प्रक्रिया संलग्न रहेको भन्दै एमालेका सांसदहरूले पर्यटनमन्त्री किराँतीको राजीनामा मागेका छन्।

संसद् बैठकमा एमाले सचेतक बर्तौलाले संसद्को आगामी बैठकमा मन्त्रीहरूलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गर्दै सांसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने चेतावनी दिएका थिए।

११ फागुन, २०८०, १७:३५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।