पारिवारिक असहमति र क्षणिक आवेगले बर्दीमै अपराध

पारिवारिक असहमति र क्षणिक आवेगले बर्दीमै अपराध

बुटवल : लुम्बिनी प्रदेशमा पछिल्लो दुई साता भित्र दुई हत्या भए, त्यो पनि बर्दिधारी प्रहरीबाटै।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा शुशान्तको घोराहीस्थित एक होटेलमा गत माघ २१ गते हत्या गरे।

गत बिहीबार साँझ घोराहीको दामोदर चोकमा महिला प्रहरी धनमाया थापाको हत्या भयो। ड्युटीमा रहेकी धनमाया थापालाई उनकै श्रीमान यमबहादुर झाँक्रीले हत्या गरे।

यमबहादुर नेपाल प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत प्रहरी थिए। उनले बर्दीमै रहेकी श्रीमतीलाई तीन राउन्ड गोली प्रहार गरेका थिए।

दुई साताको फरकमा भएका यी दुई बर्दिधारी प्रहरीबाट भएका घटनापछि प्रहरी संगठनले यसलाई मिहीन ढंगले अनुसन्धान गरिरहेको छ।

पारिवारिक तनावले श्रीमती र छोराको हत्या
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपाली रुन्टीगढी गाउँपालिका-९, रोल्पाका हुन्। उनकी श्रीमती धनमायाको माइती रुकुम चौरजहारी हो। पिमलालकी श्रीमती र छोरा नेपालगञ्जमा कोठा भाडामा बस्थे। पिमलाल नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए। उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए।

दाङ आएका नेपालीले नेपालगञ्जबाट श्रीमती र छोरालाई माघ २० गते शनिबार घोराही बोलाए। आफू बिदामा बसेकालेसोही रात घोराहीको एक होटलमा तीन जना बसे। तर, राती आपसी मनमुटाव बढ्दा नेपालीले श्रीमती र छोरालाई सलले घाँटी कसेर हत्या गरे। उनले श्रीमती र छोराको हत्या गरेको प्रहरी कार्यालयमै गएर आफैँ बताएका थिए।

१० वर्षदेखि प्रहरी सेवामा कार्यरत ३२ वर्षीय पिमलाल नेपालीले आवेगमा विवेक गुमाउँदा २२ वर्षीय श्रीमती र साढे दुई वर्षका छोराको हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरी अधिकृतहरूले बताएका छन्।

‘श्रीमतीले सँगै लैजा नभए राम्रो हुँदैन भनेपछि पिमलालले श्रीमतीको घाँटी सलले कसेर हत्या गरेछन्। पछि छोराको विचल्ली हुने सोचेर छोराको पनि हत्या गरेको हुँ भनी उनले बयानमा भनेका छन्’,  लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एक अनुसन्धान अधिकृतले भने।

ड्युटीमै रहेकी श्रीमतीलाई दाग
फागुन ३ गते साँझ दाङको घोराहीस्थित व्यस्त नयाँ सडकको दामोदर चोक चकमन्न थियो। कोही गन्तव्यमा जाँदै थिए। रात छिप्पिँदै जाँदा चोकमा चहलपहल केही कम हुँदै थियो। त्यहि बेला तीन राउण्ड गोली चल्यो। चोक नजिक रहेकाहरूलाई गाडीको टायर पट्केजस्तो लाग्यो।

केही समयमै चोकमा भीड बढ्यो। त्यसरी पट्किएको टायर नभएर गोली नै थियो। त्यो पनि दामोदर चोकमा ड्युटीमा रहेकी प्रहरी धनमाया थापामाथि। गोली चलाउने अरु कोही नभएर उनकै श्रीमान् यमबहादुर झाँक्री थिए।

मोटरसाइकलमा आएका उनले श्रीमतीलाई तीन राउण्ड गोली प्रहार गरे। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत धनमायालाई दामोदर चोकमा गोली प्रहार गरेपछि भागेका झाँक्रीलाई प्रहरीले घोराही लमही सडक खण्डको अर्जुनखोलाबाट नियन्त्रणमा लिएको थियो।

नेपालगन्ज तालिम केन्द्रमा जुडो प्रशिक्षकका रूपमा कार्यरत रहेका यमबहादुर झाँक्रीले श्रीमतीको ड्युटी अवस्थामै हत्या गरेपछि अहिले यो घटनामाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

फागुन २ गते बिदा लिएर निस्केका झाँक्रीले हत्यामा प्रयोग गरेको पेस्तोल १५ दिन अगाडि गुपचुपमै जिन्सी शाखाबाट लगेको बाहिरिएको छ।

अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार झाँक्रीले जिन्सी शाखामा व्यक्तिगत सम्बन्ध बनाएर बाहिर एक काममा जान लागेको र सुरक्षाका लागि पेस्तोल चाहिएको बताएपछि अर्का अधिकारीले गुपचुपमा पेस्तोल दिएका थिए।

प्रहरी तालिम केन्द्र नेपालगञ्जका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले हत्यामा प्रयोग भएको पेस्तोल तालिम केन्द्रकै जिन्सी शाखाबाट ल्याएको खुलेपछि पेस्तोल दिनेमाथि पनि अनुसन्धान भइरहेको बताए।

‘व्यक्तिगत सम्बन्ध बनाएर हतियार लगेको देखिन्छ। अहिले जिन्सी शाखामा कार्यरत जसले हतियार दियो। ती हवल्दारलाई अनुसन्धानको दायरामा ल्याएका छौं’, उनले भने।

हतियारसँगै ड्युटीमा रहेकी श्रीमतीको हत्या झाँक्रीले किन गरे भन्नेबारेमा पनि थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए। प्रहरीका अनुसार यमबहादुर झाँक्री र धनमायाबीच सम्बन्ध राम्रो थिएन। सम्बन्धमा आएको दरार हत्यासम्म पुगेको हुनसक्ने प्रहरी अनुमान छ।

‘उनीहरू आपसमा छुट्टिएर बस्न चाहन्थे। धनमायाले ‘सम्बन्धविच्छेद गरिपाऊँ’ भनेर जिल्ला अदालत, दाङमा निवेदन ‘फिराद पत्र’ दर्ता गरेपछि यी दुईबीचमा मनमुटाव सुरु भएको र हत्या भएको हुनसक्छ’, डीएसपी बस्नेतले बताए।

उनको निवेदनमाथि फागुन १० मा पेशी तोकिएको छ। प्यूठानको नौबहिनी गाउँपालिका-४, खवाङ स्थायी घर भएका यामबहादुरले सुर्खेतको पञ्चपुरी नगरपालिका-९ विद्यापुरकी २६ वर्षीया धनमायासँग दोस्रो विवाह गरेका थिए। यामबहादुरको जेठी श्रीमतीबाट एक सन्तान र थापाबाट पाँच वर्षीया छोरी छन्।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद भट्टराई रक्षकहरूले नै परिवारलाई हत्या गरेको घटना बाहिर आउँदा प्रहरीप्रति नकरात्मक दृष्टिकोण पैदा भइरहेको बताए।

‘देशको सुरक्षा गर्छु। नागरिकको सुरक्षा गर्छु भन्ने प्रहरीले आफ्नै परिवारको हत्या गर्न पुग्छ भने आम नागरिकले के अपेक्षा गर्ने?’, उनले प्रश्न गरे।

उनले प्रहरीबाटै हुने यस्ता घटनाले प्रहरीको समेत शिर निहुरिने बताए।

‘प्रहरीले अब आफ्नो संगठनभित्र मोटिभेट क्लास चलाउनुपर्छ। अपराधमुक्त समाज बनाउने प्रहरी अभियानमा प्रहरीबाटै अपराध हुन्छ भने यसले राम्रो सन्देश जाँदैन’, उनले भने।

९ फागुन, २०८०, १३:१४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।