बालेनका गफ : विकास खर्चमा वीरगन्ज महानगर पहिलो सूचीमा पर्दा काठमाडौँ पुछारमा

बालेनका गफ : विकास खर्चमा वीरगन्ज महानगर पहिलो सूचीमा पर्दा काठमाडौँ पुछारमा

काठमाडौँ : चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा ६ वटा महानगरपालिकामध्ये वीरगन्ज पहिलो नम्बरमा परेको छ। विराटनगर सबैभन्दा बढी विकास खर्च गर्नेमा दोस्रो नम्बरमा परेको छ।

वीरगन्ज महानगरको विकास खर्च ३४.३१ प्रतिशत छ  भने विराटनगरले विनियोजित बजेटको ३४.१५ प्रतिशत विकास खर्च गरेको छ। विराटनगर महानगरका मेयर नागेश कोइरालाले नेपालन्युज बैङ्कसँग महानगरका १९ वटै वडामा भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको बताए।

रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहु प्राविधिक विद्यालय, विराटनगर ५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक निर्माण भइरहेको छ।

यस्तै, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकसहित १ अर्ब १५ करोडभन्दा बढी विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेको मेयर कोइरालाको भनाइ छ।

करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको महानगरले जनाएको छ। विराट राजाको दरबार परिसरमा झन्डै १ करोड लागतमा पोखरी निर्माण भइसकेको मेयर कोइरालाले बताए।

वडा स्तरका साना विकासका योजना पनि धमाधम भइरहेको उनको भनाइ छ। विराटनगर महानगरपालिकाले पुँजीगत अर्थात् विकास खर्च १ अर्ब २६ करोड ८० लाख विनियोजन गरेकोमध्ये ३४.१५ प्रतिशत खर्च गरेको छ।

वीरगन्ज महानगरको पुँजीगत खर्च ३४.३१ प्रतिशत छ । वीरगन्जले ७९ करोड २८ लाख विनियोजित बजेटमध्ये २७ करोड २० लाख रुपैयाँ मात्रै खर्चिएको छ ।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा कम विकास खर्च गरेको छ। काठमाडौँ महानगरले विकास खर्च १४.११ प्रतिशत मात्रै गर्न सकेको छ।

भरतपुरले विनियोजित पुँजीगत खर्चको करिब १८ प्रतिशत मात्रै खर्च गरेको छ। ललितपुर ३३ प्रतिशत विकास खर्च गर्दा पोखरा महानगरपालिका २५ प्रतिशतमा सीमित छ।

विराटनगर महानगरको चालुतर्फको खर्च भने ४४.३१ प्रतिशत छ । चालु आवका लागि चालुतर्फ १ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये ६८ करोड ६२ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।

अन्य महानगरभन्दा विकास खर्चमा विराटनगर अब्बल हुनुमा नियमितजसो अनुगमन, उपभोक्ताहरूको सक्रियताले पनि काम गरेको उपमेयर शिल्पा निराला कार्कीले बताइन्।

८ फागुन, २०८०, २१:२३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।