चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं  : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा अहिले आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु लागेको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

८ फागुन, २०८०, ०७:१३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।