पति परस्त्रीसँग लागेको थाहा पाएपछि आत्मदाहको प्रयास गरेकी थिइन् मायाले, आफू बाँचिन् तर छोरी रहिनन्

पति परस्त्रीसँग लागेको थाहा पाएपछि आत्मदाहको प्रयास गरेकी थिइन् मायाले, आफू बाँचिन् तर छोरी रहिनन्
प्रतिकात्मक तस्बिर

काठमाडौं : झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीय माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाहको प्रयास गर्दा छोरीको मृत्यु भएको छ। सो प्रयासमा आमा भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन्। घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो।

प्रहरी निरीक्षक गिरीका अनुसार आज बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको छ।

उनले मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको बताए।

उक्त नोटमा रम्तेलले उनका पति परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनु परेको उल्लेख गरेको प्रहरीको भनाइ छ।

प्रहरीले ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गिरीले बताए। पति राजन काममा गएको र घरमा ८१ वर्षीय सासू आमा सुन्तलीमाया खाती मात्र रहेको अवस्थामा मायाले छोरीलाई सलले आफ्नो शरीरमा बाँधेर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।

५ फागुन, २०८०, १५:०३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।